जनता टाइम्स

१ भाद्र २०७६, आईतवार १३:५४

रविविरुद्ध पुडासैनी श्रीमतीको जाहेरी


काठमाडौं, भदौ १

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानविनका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध पीडित परिवारले किटानी जाहेर दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्की विरुद्ध किटानी जाहेरी दिएको हो । मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफै प्रहरीमा उपस्थित भई जाहेरी दिनुभएको हो ।

शनिबार श्रीमानको १३ दिने काजकिरिया सकेर आइतबार उजुरी दिएको परिवारले जनाएको छ । सम्झनाले जाहेरीमा आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनिहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहन अन्र्तगत कारवाही गर्न माग गर्नुभएको हो । यसअघि मृतक पुडासैनीले उनीहरु तिन जनाका कारण आफूले आत्महत्या गर्न बाध्य भएको भिडियो रेकर्ड गरेका थिए ।