जनता टाइम्स

६ फाल्गुन २०७९, शनिबार १४:०७

उद्योग मन्त्रालयको सह्रानीय काम : सबै सरकारी निकायमा स्वदेशी उत्पादन मात्रै प्रयोग गर्न निर्देशन


काठमाडौं, माघ ६ । उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायलाई स्वदेशी उत्पादनका वस्तु मात्रै प्रयोग गर्न निर्देशनसहित परिपत्र गरेको छ ।

उद्योगमन्त्री दामोदर भण्डारीको निर्देशनअनुसार शुक्रबार सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिका २०७१ को प्रभावकारी कार्यान्वयन गर्न भन्दै मन्त्रालयले सर्कुलर जारी गरेको हो । सर्कुलरमा सबै तहका सरकार, मन्त्रालय, आयोग र सबै सार्वजनिक कार्यालयहरुलाई स्वदेशी वस्तु अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ ।

सबै सार्वजनिक निकाय तथा कार्यालयले आयोजना गर्ने कार्यक्रममा अतिथि सत्कार, नास्ता र खाजामा अनिवार्य रुपमा नेपाली नै उत्पादन प्रयोग गर्न र सार्वजनिक खरिद पनि १५ प्रतिशतसम्म महँगो भए पनि नेपाली उत्पादन नै प्रयोग गर्न पुनःस्मरण गराइएको छ ।

‘सार्वजनिक निकायले आफ्नो कार्यालयमा प्रयोग हुने स्टेसनरी, फर्निचर, मेसिनरी औजारजस्ता मालसामान खरिद गर्दा सकेसम्म नेपाली उत्पादन नै खरिद गर्नुपर्ने छ,’ मन्त्रालयको निर्देशनमा भनिएको छ, ‘उपलब्ध भएसम्म नेपाली उत्पदन नै प्रयोग गर्न नभएमा न्यूनतम ५० प्रतिशत स्वदेशी मालसामान खरिद गर्नुपर्ने छ ।’

यस्तै, मन्त्रालय मातहतको सार्वजनिक खरिदमा पनि विदेशी मालसामानभन्दा नेपालमा उत्पादित वस्तु १५ प्रतिशत महँगो भए नेपाली खरिद गर्नुपर्ने पर्ने परिपत्रमा उल्लेख छ । यस्तो व्यवस्था सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १७ मा पनि भएको मन्त्रालयले स्मरण गराएको छ ।

मन्त्रालयले स्वदेशी माल सामान वा वस्तुको उत्पतिको प्रमाणपत्रको विवरण सबैले देखिने गरी प्रकाशन गर्न निजी क्षेत्रलाई आग्रह पनि गरेको छ । मन्त्रालयले स्वदेशी मालसामान उत्पादन गर्ने उत्पादकले सार्वजनिक निकायमा आफ्नो उत्पादनलाई सूचीकृत गराउनु पनि भनेको छ । स्वेदशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्न यस्तो नीति लिइएको हो ।