रामेछाप, १९ फागुन । रामेछापको उमाकुण्ड गाउँपालिका–२ का खम्बध्वज बस्नेतलाई दिनमा भोक र रातमा निद्रा हराएको छ । गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूका कारण बस्नेतको घरबास उठ्ने अवस्थामा पुगेको छ । जलविद्युत् आयोजनाहरूले आयोजना निर्माणका लागि सामग्री ल्याउन मनलाग्दी रूपमा सडक ठूलो बनाउँदा बस्नेतको घर पहिरोले तानेको छ ।
दुःख गरेर बनाएको घर नै पहिरोले तानेपछि बस्नेतलगायत उहाँका परिवारकै भोक र निन्द्रा हराएको छ । जलविद्युत् आयोजनाले विभिन्न आश्वासन दिएर जथाभाबी खनेको सडकका कारण बस्नेतको भूकम्पपछि बनाएको टहरा पहिरोले तानिसकेको छ भने अहिले बसिरहेको दुईवटा घर पनि उच्च जोखिममा छ ।
जलविद्युत् आयोजनाहरूले आफ्नो सामान ल्याउन ठूला गाडी गुडाउन मनलाग्दी फराकिलो बनाएको सडकबाट पहिरोले तान्दा अहिले घरमा बस्ने स्थिति नभएको उहाँले बताउनुभयो ।
आँखाबाट आँसु झार्दै उहाँले भन्नुभयो, “पहिरोले घरमा बस्ने स्थिति छैन, अहिले त जसोतसो बसेका छौँ तर बर्खामा बस्ने अवस्था छैन, हाइड्रो प्रोजेक्टले उठिबास लगायो, हाम्रो समस्या कसैले देखेनन्, सुनेनन् ।” अरू केही चाहिँदैन स्थानीय, प्रदेश, सङ्घीय सरकार वा हाइड्रो प्रोजेक्ट कसले हुन्छ घर र जग्गामा गइरहेको पहिरो रोकथाम गरेर परिवारलाई सुरक्षित बस्ने वातावरण बनाइदिए पुग्थ्यो भन्नुहुन्छ उहाँ ।
खम्बध्वज बस्नेतको मात्रै होइन उमाकुण्ड गाउँपालिका–२ का तेजबहादुर बस्नेतको पनि पीडा उस्तै छ । गाउँपालिकाका विभिन्न स्थानमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरूले बाटोघाटो चौडा बनाउँदा उहाँको पनि घरसहित चारवटा खेत पहिरोको निसाना बनेका छन् ।
सडक चौडा बनाउने बहानामा केही मतलब नगरी जथाभावी सडक खन्दा आफ्नो घर पहिरोको उच्च जोखिम पर्दा सिङ्गो परिवारकै उठिबास लागेको उहाँले बताउनुभयो । “तत्कालीन अवस्थामा गाउँको विकासका लागि एक घर एक कोदालो अभियानले सडक बनाइयो, अहिले हाइड्रो पावरले यही सडकलाई प्रयोग गरेर उठीबास लगायो, अहिले त जसोतसो बसेका छौँ, बर्खामा कहाँ गएर बस्ने भन्ने चिन्ताले सताएको छ,” उहाँले भन्नुभयो ।
उमाकुण्ड गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूका कारण वडा नं २ का खम्बध्वज बस्नेत र तेजबहादुर बस्नेतको जस्तै धेरै परिवारको उठीबास लाग्ने अवस्था बनेको छ । जलविद्युत् आयोजनाले आयोजना निर्माणका लागि आवश्यक सामग्री ल्याउन प्रयोग गरेको उमाकुण्ड गाउँपालिकाबाट सोलुखुम्बु जिल्ला जोड्ने देउराली, बाम्ती ठाडो खोला सडक खण्ड भत्किएर लथालिङ्ग बनेको छ ।
यो सडक खण्डमा जलविद्युत् परियोजनाको ठुल्ठूला ट्रक हिँडेका कारण सडक भत्किएर अन्य साना यात्रुवाहक सवारी साधन गुड्न सक्ने अवस्था नरहेको चालक ज्ञानेन्द्रबहादुर पुरीले बताउनुभयो ।
“ठूला ठूला ट्रक गुडेर बाटो साह्रै खराब बनेको छ, गोकुलगङ्गा गाउँपालिकाको वडा नं २ ठोसेको शिवालयदेखि उमाकुण्ड गाउँपालिकाको देउराली, बाम्ती ठाडो खोला सडकमा साना सवारीसाधन गुड्न सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो । वातावरणीय प्रभाव मूल्याङ्कनअनुसार काम नगर्ने र विभिन्न बहानामा गाउँपालिकाका नागरिकलाई दुःख दिने जलविद्युत् आयोजनाहरू आवश्यक नरहेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो ।
“जलविद्युत् आयोजनाहरूले वातावरणीय प्रभाव मूल्याङ्कन कार्यान्वयन गर्ने त कुरै छाडौँ, विभिन्न आश्वासन र प्रलोभनमा नागरिकलाई दुःख दिनेबाहेक केही गरेको छैन, आयोजनामा काम गर्दैगर्दा ज्यान गुमाएका मजदुरले पाउनुपर्ने क्षतिपूर्ति दिन पनि आयोजना मान्दैन,” उहाँले भन्नुभयो । आयोजनाका कारण भत्किएको सडक निर्माणका बारेमा स्थानीय सरकार, जिल्ला प्रशासन र स्थानीयवासीबीच पटक पटक सहमति भए पनि सहमतिअनुसार जलविद्युत् आयोजनाले काम नगरेको उहाँको भनाइ छ ।
रामेछाप र सोलुखुम्बुको सीमा भएर बग्ने लिखु नदीमा अहिले नौवटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । रामेछापको
उमाकुण्ड गाउँपालिकामा ५७।५ मेगावाट क्षमताको नुप्चे जलविद्युत् आयोजना, ७७ मेगावाटको लिखु–१ जलविद्युत् आयोजना र ५५ मेगावाटको लिखु–२ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।
त्यसैगरी ४।५ मेगावाटको मध्यलिखु साना जलविद्युत् आयोजना, ३० मेगावाटको लिखुखोला जलविद्युत् आयोजना, ८।५२ मेगावाटको चुले खोला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।
२९ मेगावाटको लिखु–ए जलविद्युत् आयोजना र ५२।४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले उत्पादन सुरु गरिसकेका छन् । गोरखापत्रबाट
प्रतिक्रिया दिनुहोस्