जनता टाइम्स

८ चैत्र २०७९, बुधबार १५:५९

वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि सामाजिक सुरक्षाको दायरामा


काठमाडौं, चैत ८ । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको छ ।

कोषले आज एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा सूचीकरणको काम सुरु भएको घोषणा गर्नुभयो ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको कोषले जनाएको छ । योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सो क्रममा प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारमा जाने युवालाई विभिन्न बहानामा दुःख दिने कामको अन्त्य हुने बताउनुभयो । “अब दुःख दिने काम अन्त्य भएको छ । वैदेशिक रोजगारीका लागि जाने युवालाई सहज वातावरण हुनुपर्छ”, उहाँले भन्नुभयो । गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न आफूले पहल गर्दै आएको पनि उहाँले सो अवसरमा उल्लेख गर्नुभयो ।

विभिन्न परिस्थिति र बाध्यताले वैदेशिक रोजगारीमा जान परेको अवस्थालाई अन्त्य गर्न सरकार कटिबद्ध रहेको उहाँको भनाइ छ । कोषमा आबद्ध हुने वैदेशिक रोजगारमा रहेका श्रमिकले पनि जीवनको उत्तरार्धमा पेन्सन पाउने अवस्था बनेको उल्लेख गर्दै उहाँले यसले श्रमिकको जीवनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यसचिव डा शङ्करदास वैरागी गैरआवासीय नेपालीको सीप र पुँजीलाई नेपालको समृद्धिमा लागाउन सरकारले सहजीकरण गरेको धारणा राख्नुभयो । अनौपचारिक र स्वरोजगार श्रमिकका लागि कुनै पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर रहेको अवस्थामा कोषले ल्याएको योजना नयाँ सुरुआत भएको बताउनुभयो । उहाँले कोषको दायरा विस्तार गरेर सरकारको दायित्वलाई कम गर्दै लैजान सकिएको खण्डमा नागरिकले अप्ठ्यारो पर्दा कोषबाट सहयोग लिन सक्ने बताउनुभयो ।

कोष सञ्चालक समितिका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले यस योजनाले वैदेशिक क्षेत्र र विदेशमा स्वरोजगारमा रहेका नागरिक सामाजिक सुरक्षाको दायरामा समेटिने बताउनुभयो । विप्रेषणलाई वैधानिक बाटोबाट भित्र्याउन पनि यस योजनाले सघाउ पु¥याउने उहाँको विश्वास छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम शक्तिको ठूलो हिस्सालाई यस योजनाले समेट्ने बताउनुभयो । योजनाबाट लाखौँ श्रमिक र आश्रित परिवार लाभान्वित हुने जनाउँदै उहाँले अप्ठ्यारो पर्दा सामाजिक सुरक्षा योजनाले राहत दिने बताउनुभयो ।

सामाजिक सुरक्षा कोषमा सङ्कलन हुने योगदान रकमबाट आन्तरिक पुँजी परिचालन गरी आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै अहिलेको तरलता सङ्कटको समस्या गर्न सहयोग पुग्नेमा उहाँको विश्वास छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष रविना थापाले श्रमिकको सुरक्षाका लागि ल्याइएको यस कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । एनआरएनएका अर्का अध्यक्ष कुल आचार्यले वैदेशिक क्षेत्रमा सामाजिक सुरक्षा योजना लागू भएपछि मलेसिया, मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने बताउनुभयो ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का महासचिव चिरागमानसिंह कुँवरले अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले आगामी वैशाख १ देखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताउनुभयो ।