जनता टाइम्स

११ चैत्र २०७९, शनिबार ०७:३९

पहाडमा विदेशीको बसोबास बढ्दो


काठमाडौँ, ११ चैत । नेपालमा विदेशी व्यक्तिको बसोबासले पहाड ताक्दै गरेको यस जनगणनाको तथ्याङ्कले देखाएको छ । स्वदेशी जनसङ्ख्याले पहाड छाडेर तराई ताक्दै गर्दा विदेशीको आकर्षण पहाडको स्वच्छ हावापानीतर्फ उन्मुख देखिएको हो ।

छिमेकी मुलुक भारतसँग सिमाना जोडिएका हिसाबले तराई भेगमा बढी भारतीय मूलका विदेशी हुनु स्वाभाविक हो । तर पहाडी भेगमा पनि भारतीयलगायतका विदेशी नागरिकको आकर्षण बढेको तथ्य राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रस्तुत गरेको छ । भौगोलिक सिमाना जोडिएको छिमेकी मुलुक चीन र भारतसँगै तेस्रो मुलुकका बासिन्दाको ठूलो सङ्ख्या पहाड उक्लँदै गरेको तथ्यले प्रस्ट पार्छ । भौगोलिक विभाजनअनुसार कुल विदेशी नागरिकमध्ये तराई भेगमा ०.४८ र पहाडमा ०.४७ प्रतिशत भारतीय नागरिक पुगेका छन् । सङ्ख्यात्मक रूपमा हेर्दा पहाडमा ५४ हजार ८३९ जना भारतीय नागरिक फेला परेका छन् । तराईमा ७५ हजार ८२३ जना भारतीय नागरिकको बसोबास भेटिएको छ ।

त्यस्तै हिमाली भेगमा ०.१२ प्रतिशत भारतीय नागरिक अर्थात् दुई हजार ११९ जना रहेका छन् । चिनियाँ नागरिकको पहुँच हिमालबाट पहाडतिर उन्मुख देखिन्छ । जसअनुसार हिमाली भेगमा ०.०२ अर्थात् २७७ जना र पहाडमा ०.०१ प्रतिशत अर्थात् एक हजार ४१६ जना चिनियाँ नागरिक भेटिएका छन् । तराईमा पनि पछिल्लो समय १८९ जना चिनियाँ नागरिकको उपस्थिति पाइएको छ । तेस्रो मुलुकका एक हजार ६२९ जना पहाडमा रहेको भेटिएको छ । देश नखुलेका विदेशीको पहुँच पनि पहाडमा बढेको छ ।

विदेशी नागरिक शरणार्थीका रूपमा वा वैध, अवैध रूपमा नेपालमा बसोबास गरिरहेको पाइएको हो । नेपालमा कुल जनसङ्ख्यामध्ये ०.४७ प्रतिशत विदेशी नागरिक रहेको जनगणनाको अन्तिम निष्कर्षमा उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै ०.४६ प्रतिशत भारतीय नागरिकको बसोबास नेपालमा रहेको खुलेको छ । त्यस्तै ०.०१ प्रतिशत चिनियाँ नागरिक, दक्षिण एसियाली क्षेत्रबाहेकका देशका ०.० प्रतिशत र ०.०१ प्रतिशत देश नखुलेका नागरिक रहेको तथ्याङ्क विभागले जनाएको छ । तथ्यगत रूपमा विवरणमा नसमेटिएका सङ्ख्या अझ धेरै हुनसक्ने अनुमान गरिएको छ ।

भारतसँगको सामाजिक, सांस्कृतिक र भौगोलिक निकटता भएकै कारण त्यहाँका बासिन्दाको उपस्थिति बलियो रहनु स्वाभाविक रहेको कार्यालयका उच्च अधिकारी बताउनुहुन्छ । त्यस्तै सीमा नाका जोडिएको छिमेकी देश चीनबाट पनि नेपालमा बस्नेहरूको सङ्ख्या बढ्न थालेको पाइएको हो । सङ्ख्यागत रूपमा हेर्दा नेपालमा एक लाख ३२ हजार ७८१ जना भारतीय नागरिकको बसोबास रहेको छ । चिनियाँ नागरिकको पहुँच सङ्ख्या पनि बढ्दो रूपमा देखिएको छ । जसअनुसार एक हजार ८८२ जना चिनियाँ नागरिक नेपालमा रहेको पाइएको छ । सार्क बाहेकका मुलुकका ५८० जना नेपालमा रहेका छन् भने नखुलेका देशका पनि एक हजार ९७५ जना छन् । विदेशी तर विवरण नखुलेका १८९ जना रहेका छन् ।

सबैभन्दा बढी विदेशी नागरिक बागमती प्रदेशमा भेटिएका छन् । कार्यालयले सार्वजनिक गरेअनुसार यहाँ ४८ हजार ३६१ जना अर्थात् ०।७९ प्रतिशत भारतीय नागरिक छन् । त्यसपछि मधेश प्रदेशमा २७ हजार ३०७ जना, गण्डकी प्रदेशमा १२ हजार ३२१ जना र सुदूरपश्चिममा छ हजार ४०१ जना भारतीय नागरिक भेटिएका छन् । बागमतीमा भारतीयबाहेक ०.०२ प्रतिशत चिनियाँ नागरिक देखिएका छन् । विदेशी नागरिकहरूले गाउँको तुलनामा सहर केन्द्रित भूभागमा बसोबास रोजेको विभागले उल्लेख गरेको छ । गोरखापत्रबाट