जनता टाइम्स

११ चैत्र २०७९, शनिबार १७:२६

देशको आर्थिक अवस्था संकटपूर्ण, राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक : पूर्वअर्थमन्त्री पौडेल


बुटवल, चैत ११ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक अवस्था नाजुक मात्र नभएर संकटपूर्ण अवस्थामा पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।

शनिबार बुटवलमा आयोजित पश्चिम नेपाल बस व्यवसायी प्रालिको साधारणसभामा पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताउनु भएको हो । कार्यक्रममा उहाँले पूर्वमन्त्री पौडेलले मुलुकको आर्थिक संकट समाधान गर्नका लागि दलहरुले साझा धारणा बनाएर अगाडि बढ्नुपर्ने सुझाव पनि दिनुभयो । उहाँका अनुसार मुलुकमा राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको छ ।

‘‘राजश्व संकलन स्वात्तै घटेको छ । अहिलेको राजश्वले साधारण खर्चसमेत धान्न सक्दैन,’ पौडेलले भन्नुभयो । उहाँले २०२८ सालमा जस्तै यसपटक पनि राजश्व संकलनको अवस्था निराशाजनक अवस्थामा रहेको तथ्य राख्नुभयो ।

पूर्वउपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बेलामा दलहरु पक्षविपक्षमा बाँडिएर सत्ता ढलाउने खेलमा लाग्नु भन्दा देशको आर्थिक अवस्था सुधारमा लाग्नुपर्ने बताउनु भयो । ‘जिम्मेवार राजनीतिक दलहरु नागरिकलाई साथमा लिएर आर्थिक अवस्था सुधार्न लाग्नुपर्छ,’ पौडेलले भन्नुभयो ।