जनता टाइम्स

१२ चैत्र २०७९, आईतवार ०८:००

बैदेशिक अध्ययनका लागि ७ महिनामै बाहिरियो ४४ अर्ब, अघिल्लो बर्षको तुलनामा ९४ प्रतिशत बढी


काठमाडौं चैत १२ । बिदेशमा अध्ययनकै लागि चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ४३ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले यस्तो डरलाग्दो तथ्यांकको खुलासा गरेको हो ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सात महिना (साउनदेखि माघ) को तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उक्त शीर्षकमा बाहिरिएको रकम ९३.६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको माघसम्म विदेशमा अध्ययनका लागि २२ अर्ब ५९ करोड रुपैयाँ बाहिरिएको थियो । चालु आर्थिक वर्षको सात महिनामा भने वैदेशिक अध्ययनका लागि बाहिरिएको रकम कोभिड संक्रमणअघिको वर्षभरिमा सोही शीर्षकमा बाहिरिएको भन्दा बढी हो ।

आर्थिक वर्ष ०७५/७६ मा वैदेशिक अध्ययनका लागि ४६ अर्ब ३२ करोड र आर्थिक वर्ष ०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको थियो । उच्च शिक्षाका लागि नेपालबाट विदेशी मुद्रा बाहिरिने क्रम चुनौतीका रूपमा देखिएको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ ।

नेपालमा हाल विदेशी सम्बन्धनका ८५ कलेज र १३ विद्यालय सञ्चालनमा छन । शिक्षा मन्त्रालयले निर्देशिकाबमोजिम नचलेको भन्दै यसअघि विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका १२ वटा कलेजको सम्बन्धन खारेजी गरेको थियो । अध्ययनका लागि धेरै नेपालीको गन्तव्य अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडालगायत मुलुकमा जाने गरेका छन ।

पछिल्ला वर्षहरूमा हरेक महिना वैदेशिक अध्ययनका लागि अनुमति लिनेको संख्या तीव्र रूपमा बढिरहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा ७२ हजार ६ सय १० जनाले वैदेशिक अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति (नो अब्जेक्सन लेटर–एनओसी) लिएका छन ।

गत आर्थिक वर्षको सोही अवधिमा ५४ हजार २८ जनाले अनुमति लिएका थिए । गत आर्थिक वर्षभरिमा १ लाख २ हजार ५ सय ७५ जनाले वैदेशिक अध्ययनका लागि अनुमति लिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।