जनता टाइम्स

१३ चैत्र २०७९, सोमबार १६:४८

प्रचण्डका घरबेटीले पाएको ठेक्का तोड्ने प्रक्रिया शुरु, आठ पटक म्याद थप्दा पनि सकिएन काम


भक्तपुर, १३ चैत । भक्तपुर–नगरकोट–सिपाघाट सडक विस्तार आयोजनाले कमलविनायक–नगरकोट सडकको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ । आठ पटक म्याद थप गर्दा पनि काममा प्रगति नभएपछि आयोजनाले १४ दिने सूचना निकाल्दै अब पनि प्रगति नभए ठेक्का तोडिने बताएको हो ।

कमलविनायक–नगरकोट सडकको ठेक्का प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटीका रूपमा परिचित शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले भारतीय कम्पनी आरामाली इन्फ्रा पावरसँग संयुक्तरूपमा लिएको हो । २०७१ साल जेठ २२ मा पहिलो सम्झौता भएको सडकको निर्माण कार्य २०७३ असार ३ गते सक्नुपर्ने थियो । तर आठ पटक म्याद थप्दा पनि काम सकिएको छैन ।

१५ किलोमिटर ६६० मिटर लामो सडक खण्डमध्ये झन्डै एक किलोमिटर कालोपत्र गर्न बाँकी छ । ठेकेदारले सडक अलपत्र पारेपछि भक्तपुर-नगरकोटका सर्वसाधारण, पालिकाका जनप्रतिनिधिलगायतले पटक–पटक पहल गरे पनि काम पूरा भएको छैन । प्रधानमन्त्री प्रचण्डको घरबेटी भएकै कारण शारदाप्रसाद अधिकारीले थुप्रै ठेक्कामा उन्मुक्ति पाएको भन्दै आलोचना हुँदै आएको छ।

वर्षौ बित्दा पनि सडकको काम नभएपछि यहाँका स्थानीयबासी ठेकेदार अधिकारी र सरकारसँग आक्रोशित छन् । गत फागुन १८ गते उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय राजदूत नविन श्रीवास्तवले स्थलगत अनुगमन गरेका थिए । सो क्रममा उनीहरुलाई स्थानीयबासीले घेरेका थिए ।

स्थानीयबासीले प्रचण्डको घरभेटी भएकै कारण काम नगरे पनि म्याद थप्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । मन्त्री श्रेष्ठले एक महिनाको समय माग गर्दै काम सम्पन्न नभए आवश्यक कदम चाल्ने आश्वासन दिनुभएको थियो । सोहीअनुसार १४ दिने स्पष्टीकरण माग गरिएको हो । सडकको काम गर्ने भनेकै ९ वर्ष बित्दा ४–५ वर्षअघि गरेको कालोपत्रे समेत भत्किएको छ ।

ठेकेदारले कालोपत्रे भनेको बाटो अहिले धूलाम्य छ । बीच–बीचमा खाल्टाखुल्टी छन् । यो सडकको ठेक्का सन् २०१४ मै लागेको हो। त्यसयता भारतीय एक्जिम बैंकसँग सफ्ट लोनको सम्झौता भई निर्माण भइरहेको छ । २७ करोडमा ठेक्का सम्झौता भए पनि भेरिएयसन गरेर ३१ करोड पुर्याइएको छ । सडकको डिजाइन परिवर्तन भई अन्तिम भेरिएसन गर्दा २८ करोडमा झरेको कन्स्ट्रक्सनले जनाएको छ ।