जनता टाइम्स

१५ चैत्र २०७९, बुधबार १४:३२

मिटरब्याजपीडित बालिकासामू टिक्न सकेनन उपप्रधानमन्त्री नारायणकाजी


काठमाडौं, चैत १५ । मिटरब्याजीबाट पीडित भएर आन्दोलित भई बर्दिबासदेखि पैदल यात्रा गरेर काठमाडौं आएका पीडितलाई बुधबार बिहान उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ भेट गर्नुभएको छ ।

माइतीघरमा धर्ना बसेका पीडितलाई श्रेष्ठले धर्ना स्थलमा नै पुगेर भेट गर्नुभएको हो । भेटका क्रममा श्रेष्ठले समस्या समाधानको लागि सरकार अगाडी बढिसकेको र छिट्टै समस्याको समाधान हुने आश्वासन दिनुभयो ।

सो क्रममा पीडितहरूले मिटरब्याजीहरुले आफूहरूलाई धम्क्याउने गरेको भन्दै सुरक्षाको समेत माग गरेका थिए । उनीहरूले महिलाहरू माथि यौन शोषण भएको भन्दै त्यस्ता पीडकलाई कारबाही गर्नुपर्ने माग उपप्रधानमन्त्री श्रेष्ठ समक्ष राखेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले कानुन बनाएर नै समस्या समाधान गर्ने बताउनुभयो । साथै एउटा उच्चस्तरीय संयन्त्र बनाई छानबिन गरेर पीडकलाई कारबाहीको दायरामा ल्याउने आश्वासन श्रेष्ठले दिनुभयो ।

भेटका क्रममा आफ्ना अभिभावकसँग आएकी एक बालिकाले उपप्रधानमन्त्री श्रेष्ठलाई सरकारले अड्डा अदालत किन बनाएको ? भन्दै प्रश्न गरेकी थिइन । श्रेष्ठले न्याय दिनलाई, जनताको सेवा गर्नलाई भन्ने जवाफ दिने बित्तिकै बालिकाले तिनीहरूले पनि आजकाल घुसै खान्छन् त भन्ने प्रतिप्रश्न गरिन ।

उपप्रधानमन्त्री श्रेष्ठले घुस खानेलाई पनि कारबाही गर्ने हो भनी दिएको जवाफले ती बालिका अश्वस्त हुन सकिनन । बालिकाले पुनः प्रश्न गरिन, ‘न्याय दिएको भए हामी यहाँ किन आउनुपर्थ्यो ?’

ती बालिकाले आफूहरूलाई धम्की दिएको कारण असुरक्षित भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठसँग सुरक्षा माग गरिन । श्रेष्ठले सुरक्षाको ग्यारेन्टी सरकारले लिने भन्दै आश्वस्त पार्ने प्रयास गर्नुभएको थियो । तर उहाँको बोलीप्रति ती बालिकाको पटक्कै विश्वास देखिएन । उनले भनिन, ‘तपाईको अनुहारले त झुट बोलिरहेको देखाउँछ ।’