जनता टाइम्स

१९ चैत्र २०७९, आईतवार १८:०७

बजेटमा करका दर हेरफेर गर्ने पूर्वनासु घिमिरेविरुद्ध सवा २ करोडको भ्रष्टाचार मुद्दा, जनार्दनसँगको सेटिङले गरेन काम


काठमाडौं, चैत १९ । तात्कालिन अर्थमन्त्री जनार्दन शर्माको बिशेष पात्र रहेर बजेटमा करका दर हेरफेर गरेको आरोप लागेका पूर्वनायव सुब्बा (नासु) रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वनासु घिमिरेविरुद्ध २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

घिमिरेले पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । २०५२ कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका घिमिरेले भन्सार विभागमा कार्यरत रहेकै अवस्थामा २०७५ फागुन १ मा राजीनामा दिएका थिए ।

सेवामा रहँदा ७ करोड ३९ लाख ६२ हजार ९८४ रुपैयाँ ६७ पैसा खर्च गरेको र यो अवधिमा उनको आम्दानी ५ करोड २५ लाख १६ हजार ३ सय २७ रुपैयाँ ४४ पैसा देखिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले आम्दानीभन्दा बढी देखिएको सम्पत्तिलाई नै गैरकानुनी सम्पत्तिका रुपमा किटान गरेर २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ २४ पैसा बिगो‚ त्यति नै जरिवाना र गैरकानुनी सम्पत्तिबाट बढे/बढाइएको चल/अचल सम्पत्ति जफत गर्न मागदाबी गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धानबाट खुलेबमोजिम आरोपितविरुद्ध बिगो जरिवाना र गैरकानुनी सम्पत्ति जफत हुनेगरी मुद्दा दायर गरिएको बताउनु भयो । अख्तियारले सम्पत्ति रोक्का र बिगो जरिवाना असुलका लागि उनकी श्रीमती शारदा गौतमलाई पनि प्रतिवादी बनाएको छ । अर्घाखाँची स्थायी ठेगाना भएका गौतम अहिले कलंकीमा बस्दै आएका छन् । उनकी श्रीमती शारदा भन्सार एजेन्ट रहेको समेत खुलेको छ ।

गैरकानुनी सम्पत्ति आर्जनकै लागि पदको दुरुपयोग गरी उनले आफ्नी श्रीमतीलाई भन्सार एजेन्ट बनाएको पनि खुलेको छ । घिमिरेमाथि २०७९ जेठ १४ गते मध्यरात अर्थ मन्त्रालय पुगेर बजेटमा करका दर हेरफेरमा संलग्न भएको आरोप लागेको थियो । २०७८ जेठ १५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले आब २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको थियो ।

सर्वोच्च अदालतको परमादेशपछि शेरबहादुर देउवा २०७८ असार २९ मा प्रधानमन्त्री बन्नुभयो । माओवादी, नेकपा एसलगायत दलहरू मिलेर बनेको सरकारले २०७८ भदौमा पुरक बजेट ल्याएको थियो । सरकारमा अर्थमन्त्री जनार्दन शर्मा हुनुहुन्थ्यो । पुरक बजेटमा पनि निश्चित व्यापारीको स्वार्थ अनुकूल हुने गरी करका दर हेरफेर गरिएको आरोप त्यस बेलै लागेको थियो ।

करका दर हेरफेरमा पनि उनै घिमिरे संलग्न रहेको आशंका थियो । गत वर्ष जेठ १४ को मध्यरात उनै घिमिरे करका दर हेरफेर गर्न अर्थ मन्त्रालय पुगेको आरोप लागेको थियो ।