जनता टाइम्स

२७ चैत्र २०७९, सोमबार १९:५४

घरजग्गा कारोबारमा सहजीकरण नगरी तरलताको समस्या सम्बोधन गर्न सकिन्न : प्रधानमन्त्री


काठमाडौं, चैत २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताउनु भएको छ ।

सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताउनु भएको हो ।

‘मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखा परेको दबाबलाई कम गर्न लगातार छलफलमा छौं। बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौं। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौं,’ बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महशुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ।’

बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्नेबारे पनि आफूले सोचिरहेको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।

‘हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दवावलाई सकारात्मक दिशामा लैजान सक्छौं,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै कारण जिम्मेवार छन्। यसमा भूकम्प, कोभिड, रूस र युक्रेनको युद्ध लगायतका कारण छन्। आयात, निर्यातसम्बन्धी निर्यातमा भएका सीमाहरूको कारण पनि छ। राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका छौं।’

अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउने भएकाले त्यतातिर जोड दिइने उहाँको भनाई छ । ‘घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौं। त्यसकारण यसमा पनि हामी छिटै निष्कर्षमा पुग्छौं,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘बैंकबाट ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन। त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन। हुलहुज्जतको सहज सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ।’

छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृत लगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताउनु भयो।

बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम राय लगायतका पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।