जनता टाइम्स

२८ चैत्र २०७९, मंगलवार ०५:३६

शान्ति सेना बोकेर युगान्डा उड्नै लाग्दा मध्यराती रोकियो वायुसेवा निगमको चार्टर्ड जहाज


काठमाडौं, चैत २८ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि युगान्डा जानुपर्ने नेपाली सेनाका ७७ जना सैनिक जहाजमा राखेर सोमबार बेलुकी उड्नै लाग्दा नेपाल वायुसेवा निगमको चार्टर्ड उडान रद्द भएको छ ।

निगम प्रवक्ता रमेश पौडेलका अनुसार, युगान्डा पस्ने मुलुकको बीचमा पर्ने अर्को अफ्रिकी मुलुक इरिट्रियाले अन्तिम सयममा कूटनैतिक माध्यमबाट आफ्नो मुलुकमाथि उड्ने अनुमति लिन भनेपछि सेनाको डफ्फा अदलीबदली गर्न तयार भएको निगमको चार्टर्ड उडान अन्तिम समयमा रद्द भएको हो । सोमबार काठमाडौंबाट दोहा हुँदै युगान्डा, त्यहाँबाट पुनः दोहा हुँदै मंगलबार काठमाडौं फर्किने तालिका रहेको यो चार्टर्ड उडान २० घण्टा हाराहारीको थियो ।

बिमान काठमाडौंबाट कतारको राजधानी दोहा, अनि त्यहाँबाट युगान्डा जानुपर्ने थियो । यो उडानमा नेपालदेखि युगान्डासम्मको हवाईमार्गमा पर्ने १० वटा मुलुकको आकाशमाथि उड्नुपर्ने थियो । यीमध्ये इरिट्रियाबाट अन्तिम सयममा उडान अनुमति उपलब्ध नभएकाले सैनिक चार्टर्ड अनिश्चितकालका लागि रद्द गरिएको बताइएको छ ।

निगमले यो चार्टर्ड उडान आइतबार राति ११ बजे राखेको थियो । तर, इरिट्रियाले ओभरफ्लाइङ अनुमति नदिएपछि सोमबार दिउसो १ बजे तय गरेको थियो । ‘हवाई मार्गमा पर्ने मुलुकहरूको ओभरफ्लाइङको अनुमति ढिलाइले ४ बजे सरिएको थियो ।

यो उडानका लागि दोहासम्म जाँदै गरेका निगमका चालक दलसहित १२ जना थिए । त्यहाँबाट यो चार्टर्ड उडानलाई युगान्डासम्म पुर्‍याउन अनि युगान्डाबाट दोहासम्म ल्याउने दुई सेट (चार पाइलट) सहित ६ जना क्याबिन क्रूलाई तीन दिनअघि नै दोहा पठाइएको थियो । उनीहरू त्यहाँको होटलमा बसिरहेका छन् ।

समयमै अनुमतिको काम नसक्दा निगमका चालकदलका १० सदस्य दोहामा अलपत्र परेका छन् भने निगमले सोमबार बिहान नियमित उडानमा पठाउने तयारी गरेको विमान दिनभर नउडेर काठमाडौंमै रहँदा अन्य व्यावसायिक कारोबारमा निगमले घाटा बेहोर्नु परेको छ ।