जनता टाइम्स

२८ चैत्र २०७९, मंगलवार १३:२६

अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल


काठमाडौं, चैत २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री भए लगत्तैदेखि आफूले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रबीच घनिभूत छलफल थालेको र अब त्यसले निकास पाउने बेला आएको प्रधानमन्त्री दाहालले बताउनु भयो । प्रधानमन्त्री दाहालले लगानीको वातावरण, ब्याजदर नियन्त्रण तथा अर्थतन्त्रमा सकारात्मक पहलका लागि सरकार गम्भीर रहेको पनि बताउनु भयो ।

‘बाह्य कारणबाट अर्थतन्त्रको आन्तरिक अवस्था केही समस्या परेको थियो । अब हामी सहज अवस्थातर्फ जाँदैछौं,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘बैंकको ब्याजदर घटाएर लगानीकर्ताको मनोबल बढाउन, पूँजीगत खर्च बढाएर बजार चलायमान गराउन र अन्य नीतिगत समाधानका लागि सरकारका सबै निकाय एक ठाउँ भएर काम गरिरहेका छन ।’

कार्यक्रममा बिभिन्न ब्यक्तिहरुलाई प्रधानमन्त्री दाहालले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।