काठमाडौं, चैत ३० । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी रामचन्द्र संघई बाहिरिनु भएको छ ।
तीन जना प्रतिस्पर्धी उम्मेदवार कसैले पनि ५० प्रतिशत मत नकटाएपछि धेरै मतभार पाउनु भएका दुई उम्मेदवार उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच फेरि प्रतिस्पर्धा हुने भएको हो ।
वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि पहिलो चरणमा ५० प्रतिशतभन्दा कम्तीमा १ मत बढी ल्याउनुपर्ने भएपनि तीनै जना उम्मेदवारले उक्त मतभार नकटाएपछि दोस्रो चरणमा निर्वाचन हुन लागेको छ ।
संघईसँगै वरिष्ठ उपाध्यक्षमा उमेशलाल र अन्जन प्रतिस्पर्धामा हुनुहुन्थ्यो । मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार एसोसिएटतर्फबाट अञ्जनले ५७३, उमेशलालले ४२६ र संघईले ६१३ मत पाउनु भएको थियो भने १८ मत बदर भएको थियो । त्यस्तै जिल्ला/नगरतर्फबाट अञ्जनले ४७, उमेशलालले २८ र संघईले ३९ मत पाउनु भएको थियो । जिल्ला÷नगरतर्फबाट ३ मत बदर भएको थियो ।
त्यस्तै वस्तुगततर्फबाट अञ्जनले ४१, उमेशलालले ६९ र संघईले १२ मत प्राप्त गरे भने १ मत बदर भएको थियो । कुल प्राप्त मतलाई प्रतिशतमा हेर्दा अञ्जनले ३९.९९ प्रतिशत, उमेशलालले ३१.५१ र संघईले ३०.४६ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।
वस्तुगत, जिल्ला/नगर र एसोसिएटतर्फको उपाध्यक्ष र सदस्यहरुको मतगणना सकिएको छ । प्रदेशतर्फको सदस्यहरुको पनि गणना सकिसकेको छ । मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार दोस्रो चरणको निर्वाचन बिहीबार दिउँसो २ बजेबाट हुने छ ।













प्रतिक्रिया दिनुहोस्