काठमाडौं, बैशाख ३ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पदभार सम्हाल्नु भएको छ । काठमाडौंको टेकुस्थित महासंघको कार्यालयमा पुगेर ढकालले आजबाट पदभार सम्हाल्नु भएको हो ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार बिहीबार सम्पन्न ५७ औं साधारणसभामार्फत ढकाल २० औं अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
पदबहालीसँगै ढकाललाई महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले कार्यभार हस्तान्तरण गर्नुभएको छ । पदभार ग्रहणपछि अध्यक्ष ढकालले आफ्नो कार्यकालमा विशेष गरी पाँचवटा विषयलाई प्राथमिकतामा राखेको बताउनु भयो ।

ढकालले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि रणनीति तयार गर्ने पहिलो प्राथमिकता रहेको बताउनु भयो । त्यस्तै राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्दै मुलुकमा लगानीको वातावरण बनाउन पहल गर्ने उहाँको भनाइ छ । ढकालले दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्न दबाब दिने प्राथमिकता पनि सुनाउनु भयो ।
निवर्तमान अध्यक्ष गोल्छाले आफूले नयाँ अध्यक्षलाई सदैव साथ र समर्थन रहने बताउनु भयो । विधान अनुसार महासंघ चलेको र निर्वाचनबाट आएका कार्यसमिति सदस्यले अहिलेको चूनौतिलाई समाधानका लागि पहल गर्ने विश्वास पनि उहाँले ब्यक्त गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्