पोखरा, बैशाख ८ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो सम्पत्ति बिवरण सार्वजनिक गर्नुभएको छ । आफ्नो आम्दानीको मुख्य स्रोत कृषि रहेको तथ्यसहित मुख्यमन्त्री अधिकारीले सम्पत्ति बिवरण सार्वजनिक गर्नुभएको छ ।
मुख्यमन्त्री अधिकारीले शुक्रबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा खेतबारीबाट कृषि फसलमार्फत वार्षिकरुपमा ६ लाख रुपैयाँ आम्दानी गरेको उल्लेख छ । गत पुस २५ गते मुख्यमन्त्री नियुक्त अधिकारीले बैशाख ८ गते शुक्रबार सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।
बिवरणमा मुख्यमन्त्री अधिकारीले श्रीमती रमा पाण्डेको नाममा अग्रगामी कृषि फार्ममा साढे १६ लाख रुपैयाँ लगानी गरेको सम्पत्ति उल्लेख छ ।विवरणमा उनले ८० लाख रुपैयाँमा काठमाडौं चन्द्रगिरीमा घडेरी किनेको,त्यसका लागि प्रभु बैंकबाट ऋण लिनुभएको उल्लेख छ। यस्तै गण्डकी विकास बैंक (हाल इन्भेस्टेमेन्ट मेगा बैंक) मा मुख्यमन्त्री अधिकारीको २४ सय ९७ कित्ता सेयर रहेको छ ।
मुख्यमन्त्री अधिकारीले आइट्वान्टी कार बिक्री गरी आएको रकममा थपेर स्कोरपियो खरिद गरेको उल्लेख छ ।यस्तै सहकारीमा नगद बचत १५ लाख रुपैयाँ मौज्दात रहेको उल्लेख गर्नुभएका अधिकारीको सम्पत्ति विवरणमा ३५ लाख रुपैयाँ व्यक्तिगत रुपमा ३ जनासँग ऋण लिएको र १० लाख तिरेको उल्लेख छ ।
यसैगरी उहाँले आफूसँग ३ तोला सुन र पुर्ख्याौली सम्पत्ति बेचबिखनबाट पोखरा १२ मा घर बनाएको र पुर्ख्याौली ठाउँ पोखरा ३१ मा जग्गा जमिन रहेको उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्