जनता टाइम्स

२४ बैशाख २०८०, आईतवार ०९:४५

आपराधिक धन्दामा ठूला ब्यापारिक घराना : भारत लैजान लागिएको ५४ तोला सुन र ८ केजी चाँदीसहित समातिए दुगड ग्रुपका लेखापाल


विराटनगर, बैशाख २४। भारततर्फ अबैध रुपमा लैजान लागेको ५४ तोला सुन र ८ चाँदीसहित व्यापारिक घरना दुगड ग्रुपका लेखापाल पक्राउ परेका छन् ।

कोशी प्रदेश प्रहरीले रानी नाकातर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको इको भ्यानबाट सो परिमाणको सुनचाँदी सहित लेखापाल बिनोदकुमार मुरारकालाई पक्राउ गरेको हो । प्रहरीले मुरारकाका श्रीमतीको साथबाट ७ लाख भारतीय रुपैयाँ समेत बरामद गरेको छ ।

प्रहरीले पक्राउ गरेका विनोदको घर भारतको विहार कटिहार हो । ६१ वर्षीय मुरारकासहित ५६ वर्षीया श्रीमती पुष्पा मुरारका र भ्यान चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूको साथबाट सुनको ठूलो बिस्कुट ३ थान (३० तोला), सानो बिस्कुट ६ तोला, सिक्काहरू ३६ ग्राम, ४० ग्रामको १० थान सिक्का, कनौती ५.७८ ग्रामको दुई थान, इयररिङ ६.५० ग्रामको दुई थान गरी ५४ तोला सुन बरामद भएको कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

प्रहरीले १७ सय १९ ग्राम चाँदीको ११ थान ढिक्का, ९२.८० ग्राम बुनियाँ, २६८.३२ ग्रामको ७८ थान सिक्का बरामद गरेको छ । यस्तै चारमुखे कचौरा (दियो) ५०.१४ ग्रामको एक थान, सिँदुर राख्ने सिसी ५.४८ ग्रामको एक थान, थाल २४१४.०८ ग्रामको ६ थान, कचौरा ३९७.८४ ग्रामको ६ थान, चम्चा ३०३.४९ ग्रामको ६ थान, गिलास ३६८.८३ ग्रामको ६ थान, मड्की ३७.८८ ग्रामको एक थान, डिनरसेट ४ थान बरामद गरेको बाँस्तोलाले जानकारी दिनुभयो ।

प्रहरीले भारतीय रुपैयाँ ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँ पनि बरामद गरेको छ । बरामद गरिएको सामान करिब ९० लाख मूल्य बराबरको रहेको छ । बरामद गरेको सुन, चाँदी र प्रतिवादीहरूलाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीले बताएको छ ।