सोलुखुम्बु, भदौ १० सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–३, तामाखानीमा पासोमा फसेको भालुको उद्धार गरिएको छ ।
चार दिनदेखि स्थानीयले थापेको ट्रयापमा फसेको भालु सोमबार राष्ट्रिय प्रकृति कोष चितुवनको वन्यजन्तु प्राविधिक टोलीले उद्धार गरेको हो । शुक्रबार राति पासोमा फसेको भालु सोमबार दिउँसो वन्यजन्तु उद्धार टोलीले सिरिन्जको प्रयोग गरी बेहोस बनाएर उद्धार गरेको डिभिजन वन कार्यलय सोलुखुम्बुले जनाएको छ ।
उद्धार गरिएको भालु अहिले सदरमुकाम सल्लेरीमा राखिएको छ । भालुलाई शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र रुपन्देहीमा लगिने प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।
भालुको पेटमा तारले चोट लागेकाले राष्ट्रिय प्रकृति कोष चितुवनका वन्यजन्तु प्राविधिकहरुको निगरानीमा उपचार गरिने डिभिजन बन कार्यलयका प्रमुख डाक्टर इन्द्रप्रसाद सापकोटाले बताउनुभयो ।
उद्धारका लागि प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, प्रहरी नायब उपरीक्षक नारण चिमोरिया, डिभिजन वन कार्यलयका प्रमुख डा। इन्द्रप्रसाद सापकोटा, सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पालगायतको टिम तामाखानी पुग्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्