जनता टाइम्स

११ भाद्र २०७६, बुधबार ११:२०

रविन्द्रले शुरु गरेको सपना पुरा गर्दै पर्यटनमन्त्री भट्टराई


पोखरा, भदौ ११

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा ढिलाई नगर्न निर्देशन दिनु भएको छ । स्वर्गिय रविन्द्र अधिकारीले आफ्नो कार्यकालमा शुरुवात गरेको सो विमानस्थलको निर्माण सक्ने जिम्मा अहिले मन्त्री भट्टराईको काधमा छ ।

पर्यटनमन्त्री भएपछि पहिलो पटक पोखरा पुग्नु भएका उहाले विमानस्थलको निरिक्षण गर्नुभएको छ । विमानस्थलको भौतिक र वित्तीय प्रगतिको बारेमा बुझेपछि विमानस्थलको फिल्ड निरीक्षण गर्नुभएको थियो । निरीक्षणपश्चात् मन्त्री भट्टराईले राष्ट्रिय गौरवको आयोजनामा ढिलाइ नगर्न निर्देशन दिनु भएको हो । सबै तहका सरकारले समन्वय गर्ने र विमानस्थलको काम रोकिन नहुनेमा जोड दिदै यसमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

यो विमानस्थल चिनियाँ कम्पनी सिएएमसीले निर्माण गरिरहेको छ । कम्पनीका आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थलको काम ४५ प्रतिशत सकिएको जनाए । सन् २०२२ सम्मको सम्झौता भए पनि ६ महिनाअगावै काम सकिने दाबी आयोजनाको छ ।