बागलुङ, जेठ ९ । बचतकर्ता र सेयर सदस्यको करिब डेढ अर्ब फिर्ता गर्न नसकेपछि बागलुङको इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फरार हुनुभएको छ । मेयर नेपाली उपमेयरलाई कार्यबहाक दिएर फरार हुनुभएको हो ।
भाग्न सक्ने आशंकामा अध्यागमन विभागले नेपालीसहित सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी तथा सदस्यद्वय रूपा विक र झगबहादुर शाहीलाई विदेश जान रोक लगाएको छ ।
‘सहकारीले बचतकर्ता र सेयर सदस्यको रकम फिर्ता गर्न नसकेको रहेछ, विदेश भाग्न सक्ने भनेर जिल्ला प्रशासनबाट सोमबार पत्र प्राप्त भएसँगै विदेश जान रोक लगाएका छौँ,’ अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले भन्नुभयो ।
सहकारीका सञ्चालक नै फरार भएपछि बचतकर्ता र सेयर सदस्यले संघर्ष समिति बनाएका रकम फिर्ताका लागि पहल गरिरहेका छन । ६ सयभन्दा बढी सेयर सदस्य जम्मा भएर बचतकर्ता डिलबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
मेयर नेपालीले सहकारीको रकम घरजग्गामा लगानी गर्नुभएको थियो । तर, घरजग्गा व्यवसायमा गिरावट आएपछि रकम फिर्ता गर्न नसकेपछि फरार हुनुभएको हो । उहाँले पछिल्ला वर्षमा मात्र पोखरा, बाग्लुङ बजार र ढोरपाटको बुर्तिवाङमा घर किन्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक योगेन्द्र खड्काका अनुसार मेयर नेपाली जेठ ५ गतेदेखि परिवारसहित सम्पर्कविहीन हुनुभएको छ । त्यसयता नेपालीको मोबाइल स्विचअफ छ । सहकारीका अन्य सञ्चालकले पनि मोबाइल अफ गरेका छन । जेठ १ गते बागलुङ बजारबाट बुर्तिबाङ हिँडनु भएका नेपाली जेठ ५ गते सपरिवार बुर्तिबाङ बजारबाट फरार हुनुभएको हो ।
बचतकर्ताले पैसा फिर्ता माग्न थालेपछि सहकारीले तरलता अभाव रहेको भन्दै गत ६ वैशाखमै कारोबार बन्द गरेको थियो । मेयर नेपालीले जेठ १ गते सेयर सदस्य र बचतकर्तालाई बाग्लुङ बजारमा भेला गराएर ‘आफ्नो सम्पत्ति बेचेर भए पनि पैसा फिर्ता गर्ने’ भन्दै ६ महिनाको समय माग्नुभएको थियो । तर, आफू सुरक्षित नरहेको र स्वास्थ्यमा पनि समस्या आएको भन्दै उहाँले केही दिनअघि मात्र इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिनुभएको थियो । त्यसपछि बचतकर्ता उजुरीसहित प्रशासन र प्रहरीमा पुगेका थिए ।
सहकारीको पछिल्लो बचत र सम्पत्तिबारे यकिन विवरण खुलेको छैन । तर, आर्थिक वर्ष ०७८/७९ मा सहकारीको कुल सम्पत्ति एक अर्ब १४ करोड ५८ लाख थियो । त्यतिखेर आठ सय २० सेयर सदस्य रहेको र तीन करोड ३३ लाख सेयर पुँजी तथा ९५ करोड २४ लाख बचत संकलन थियो । जसमा ७१ करोड ऋण लगानी थियो ।
तर, सहकारीले पछिल्लोपटक बचतमा १८ प्रतिशत ब्याजको स्किम ल्याएपछि गैरसदस्यले धमाधम बचत गरेका थिए । कतिपयले बैंकबाट निक्षेप झिकेर सहकारीमा जम्मा गरेका थिए ।
भुक्तानी खोज्ने बचतकर्ताले गत वैशाख पहिलो सातादेखि नै सहकारीको शाखामा धाइरहेका छन । ०६९ देखि बाग्लुङ सदरमुकाममा सञ्चालनमा आएको यो सहकारीले पछिल्लोपटक बुर्तिबाङ र पोखराबाट पनि कारोबार गर्दै आएको थियो ।













प्रतिक्रिया दिनुहोस्