काठमाडौं, जेठ १६ । सरकारले करको दरमा अनौठो हेरफेर गरेको छ । बजेट वक्तव्यसँगै सोमवार ल्याइएको आर्थिक विधेयकमार्फत सरकारले करका दरमा अनौठो हेरफेर गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमार्फत करछुटको सूची छोट्याउने, कुनै अत्यावश्यकीय वस्तुलाई कर लगाउने, कुनैमा विलासितालाई च्याप्नेजस्ता काम गर्नुभएको छ ।
नेगेटिभ लिस्टमा रहेका वस्तुमा पनि अपेक्षाअनुरूप कर बढेको छैन ।
बिद्येयकमा सस्ता विद्युतीय कारमा कर लगाएर महँगामा घटाइएको छ । आर्थिक विधेयकमार्फत सरकारले लक्जरी करको सुरुवात गरेको हो । जसअनुसार तारे होटल तथा रिसोर्टमा बस्नेले सरकारलाई २ प्रतिशत कर बुझाउनुपर्ने छ। विलासिता शुल्क आयातीत मदिरा, १० लाखभन्दा महँगा हीरा, मोती तथा पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा पनि लाग्नेछ ।
यस्तै बियरमा प्रतिलिटर मात्र ७ रुपैयाँ अन्तःशुल्क बढाइएको छ । स्वास्थ्य जोखिम सिर्जना गर्ने ‘नेगेटिभ लिस्ट’ रहेको बियरमा कर सामान्य दरले बढाइएको हो जबकी यो सूचीमा रहेको वस्तुमा अत्यधिक कर बढ्ने गर्छ ।
यस्तै विदेश घुम्न जाँदा सरकारलाई ५ प्रतिशत कर बुझाउनुपर्नेछ । यस्तै विदेश पढ्न जानेले पनि अव ३ प्रतिशत कर बुझाउनुपर्ने भएको छ । अर्थमन्त्री महतले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दरहरू खारेज गर्नुभएको छ । यससँगै कर बढाइएका र कर छुटको सूचीबाट हटाइएको वस्तुहरूको मूल्य बढ्ने भएको छ ।
यसैगरी आगामी साउन १ गतेपछि सम्झौता हुने आयोजनामा प्रयोग हुने निर्माण सामग्रीमा भन्सार छुट नदिइने भएको छ । वार्षिक ५० लाख रुपैयाँ आम्दानी गर्ने व्यक्ति वा निजी कम्पनीलाई पनि अबदेखि बढी कर लाग्ने भएको छ । हालसम्म आयको ३६ प्रतिशत कर तिर्दै आएकाले ३९ प्रतिशत तिर्नुपर्ने भएको छ ।
विद्युतीय सवारीमा पनि सरकारले अनौठोसँग कर लगाएको छ । ५० किलोवाटदेखि १०० किलोवाटसम्मका सवारीमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लगाइएको छ । जबकि यो सेग्मेन्टमा १० प्रतिशतमात्र भन्सार लाग्दथ्यो । जबकि १०० देखि २०० किलोवाटसम्मको ईभीमा ३०–३० प्रतिशत भन्सार र अन्तःशुल्क लाग्दै आएकामा अबदेखि २०–२० प्रतिशत लाग्नेछ । २०० देखि ३०० किलोवाटको सवारीमा भन्सार महसुल ५ प्रतिशतले घटाइएको छ । यसअघि यस्ता सवारीमा ४५ प्रतिशत भन्सार लाग्ने गर्दथ्यो । अब ४० प्रतिशतमात्र भन्सार तिर्नुपर्नेछ भने अन्तःशुल्क ४५ प्रतिशत यथावत राखिएको छ ।
यता ३ सय किलोवाटको ईभीलाई ६०–६० प्रतिशत अन्तःशुल्क र भन्सार यथावत राखिएको छ । सामान्य बुझाईमा धेरै किलोवाट भएको सवारीलाई बढी विलासी मानिने गरेको छ । तर, सरकारले कम किलोवाटका कारलाई करमा कसेको छ । ५० देखि १०० किलोवाटको सूचीमा नेक्सन, एट्टो, नेटा भी, नयाँ एमजीजेडएस, ह्युन्डाई कोना आदि पर्छन्।













प्रतिक्रिया दिनुहोस्