जनता टाइम्स

१५ भाद्र २०७६, आईतवार १४:१२

एटीएम ह्याकबारे राष्ट्र बैंकले थाल्यो अनुसन्धान, प्रहरीले यसरी बिफल बनायो चिनिया ह्याकरको योजना


काठमाडौं, भदौ १५ । राजधानीमा एटीएम ह्याक गरी पैसा निकाल्ने गिरोह सक्रिय रहेको खुलेपछि नेपाल राष्ट्र बैंकले अनुसन्धान थालेको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले राष्ट्र बैंकले अनुसन्धान थालेको जानकारी दिँदै आज साँझसम्म प्रारम्भिक निष्कर्षमा पुग्ने बताउनुभयो ।

‘हामी यो विषयमा अनुसन्धान थालिसकेका छौं,’ प्रवक्ता निरौलाले भन्नुभयो, ‘अहिलेसम्म बैंकको सिस्टममा खतरा पुगेको छैन, एटीएम मेसिनको सफ्टवेयरमा मात्र ह्याकरले आक्रमण गरेका हुन ।’ निरौलाका अनुसार राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार साँझसम्म छानबिनको प्रारम्भिक निष्कर्ष ल्याउने छ । ‘बैंकहरूका सिस्टम सुरक्षित छन, एटीएमको सफ्टवेयरमा आक्रमण हो, बैंकको सिस्टममा होइन,’ निरौलाले भन्नुभयो ।

प्रहरीले शनिबार राति दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट अनाधिकृत रुपमा रकम निकाल्दै गरेका पाँच चिनियाँ नागरिक पक्राउ गरेपछि यो गिरोहबारे प्रहरीले पनि अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चिनियाँबाट प्रहरीले एक करोड २६ लाख नेपाली रुपैयाँ र ९ हजार भन्दा बढी अमेरिकी डलर बरामद गरेको छ । चिनियाँ गिरोहले योजनाबद्ध तवरले एटीएम ह्याक गरेर पैसा लुट्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार शुक्रबार मात्रै नेपाल आएको यो गिरोहले ठूलो रकम लैजाने खतरा रहेको देखिएको छ । प्रहरीले मध्यराती नै अपरेशन गरेर सो गिरोहको योजना असफल पारेको हो ।