जनता टाइम्स

२१ भाद्र २०७६, शनिबार १०:५१

दानवीयताको पराकाष्टा हो प्रधानमन्त्री ओलीको स्वास्थ्यमाथि गरिएका नियोजित हमला


पर्यटन मन्त्री योगेश भट्टराई र कांग्रेस नेता कृष्णप्रसाद सिटौला एकैपटक भरतपुर विमानस्थलमा पुगे । पहिले कृष्णप्रसाद सिटौलालाई स्वागत गरियोस् भनेर योगेशले सिटौलाप्रति उच्च सम्मान देखाए । उता भरतपुर विमानस्थलमा त्यस्तो संस्कार प्रदर्शन हुँदै थियो, यता काठमाडौंमा कांग्रेसका कतिपय जनप्रतिनिधिले दानवीय संस्कार प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको उपचारलाई हतियार बनाएर दानवीय आक्रमण गर्दै थिए

प्रधानमन्त्री केपी शर्मा ओली पुर्ण स्वास्थ्यलाभ गरी शुक्रवार स्वदेश फर्कनुभयो । बिमानस्थलमा उहाँको मुहारमा छुट्टै चमक देखियो । आत्मबिश्वासका साथ प्रधानमन्त्री स्वदेश फर्कदा आम नेपालीले खुसी ब्यक्त गरिरहेका छन । तर प्रधानमन्त्री ओली उपचारमै रहँदा नेपालमा अत्यन्त घृणित राजनीति भएको छ । नेपालमा विभिन्न प्रकारका राजनीतिक अभ्याश भए । अहिले आएर दानवीय राजनीति पनि चल्न थालेको छ । अरुको स्वास्थ्य बिग्रियोस भनेर सत्तोसराप गर्ने, अरुको मृत्युको कामना गर्ने दुःखद राजनीतिक प्रवृत्ति नेपालमा सुरु भएको छ । जनमतमा जित्न नसकेपछि अरुको स्वास्थ्यलाई हतियार बनाएर आक्रमण गर्ने प्रयास भइरहेको छ यतिबेला नेपालमा ।

प्रसंग प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गर्न थालिएको दानवीय आक्रमणको हो । लोकतान्त्रिक विधि प्रकृयामा परास्त भएपछि, आफ्नो राजनीतिक अभीष्ट पूरा नभएपछि, कुनै पनि तरिकाले प्रधानमन्त्री पदबाट ओलीलाई हटाएर मुलुकमा राजनीतिक अस्थिरता सुरु गर्न नसकिएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई हतियार बनाएर अफवाह फैलाउन खोजिँदैछ । तर, अरुले जति नै सत्तोसराप गरे पनि, जति नै अपशकुन कामना गरिए पनि प्रधानमन्त्री ओली झन स्वस्थ्य बनेको नेपाली जनताले देख्न पाएका छन् ।

अरुको मृत्युको कामना गर्नु, अरुलाई रोगविमार लागोस, लागेको रोगविमार निको नहोस, स्वास्थ्यको बहानामा पदबाट हटाउन पाइयोस भन्नु दानवीय राजनीति हो । युद्धमा समेत विरामी विपक्षीको स्वास्थ्यलाभकोका कामना गरिन्छ । तर नेपालमा आफूलाई लोकतान्त्रिक भनिनेहरुबाटै उहाँको स्वास्थ्यलाई लिएर अनेक बिषबमन भइरहेको छ । अहिले प्रधानमन्त्री ओलीमाथि गरिएको अनैतिक हमलाहरु दानवीयताको पराकाष्टा हो ।

कम्युनिष्टले ६० वर्ष पुगेका मानिस मार्छन भनेर प्रचार गर्ने युग पनि थियो हाम्रै नेपालमा कुनैबेला । कम्युनिष्टहरुले वृद्धवृद्धालाई मार्दैनौं, बरु झन सुविधा दिन्छौं, सम्मान दिन्छौं, अवसर दिन्छौं भन्दै खण्डन गर्नुपर्ने दिन थियो । अहिले वृद्धवृद्धा, रोगी, अशक्तलाई सबैभन्दा धेरै सुविधा र सम्मान दिने भनेर कम्युनिष्ट पार्टी नै स्थापित छ । मानिस बुढाबुढी बन्छन, रोगी हुन्छन, मर्छन् । यो सामान्य प्राकृतिक नियम हो । यो नियमलाई नेपालको कुनै पनि राजनीतिक दलले फेर्न सक्दैनन । नेपाल कम्युनिष्ट पार्टी या नेपाली कांग्रेसको केन्द्रीय समितिले निर्णय गरेर आजको मितिबाट मानिस बुढाबुढी बन्दैनन् र रोग लाग्दैन भनेर निर्णय गरेर हुन्छ ? हुँदैन ।

आजको बालक भोलिको युवा हो । आजको युवा भोलिको वृद्धवृद्धा हो । आजको निरोगी भोलिको रोगी हो । आजको जिवित भोलिको मृत हो । प्रकृतिको रीत यही हो । यो रीत विरुद्ध जान सकिँदैन । राजनीति गर्ने मानिसलाई मात्र रोग लाग्ने हो र ? नेतालाई मात्र रोग लाग्ने होइन, जो कसैलाई लाग्छ । प्रधानमन्त्री पदमा बसेको मानिस मात्र विरामी हुने हो र ? राजनीतिमा रोगविमारलाई मिसाउनु अमानवीय काम हो ।

यति व्याख्या मैले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रसंगमा लेखेकी हूँ । म आफैं पनि केही रोग भोगेर अनि रोगलाई जितेर यहाँसम्म आइपुगेकी हूँ । मृत्युको संघारमा पुगेर फर्किएकी हूँ । रोगलाई औषधी र आत्मबलले जित्न सकिन्छ भन्ने म आफैंले भोगेकी छु । तर, मलाई के पनि थाहा छ भने रोगलाई एउटा सीमासम्म मात्र जित्न सकिन्छ । अन्तिममा त रोग या मृत्युले जित्छ नै । यो शाश्वत सत्य पनि सबैले बुझ्न जरुरी छ । प्रधानमन्त्री ओलीले रोग विमारलाई औषधीको भरमा मात्र जितेको होइन । आत्मबलले पनि जितेको हो भन्ने म बुझ्दछु । मानिस जति क्रियाशील हुन्छ, उसले रोगविमारलाई त्यति धेरै जित्न सक्छ ।

दानवीय विचार

कांग्रेसका केही नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यका कारण अब सक्रिय राजनीति त्याग्नुपर्छ, पद छोड्नुपर्छ भनेर दानवीय कुरा गरेका छन् । त्यो दानवीय कुरातर्फ धेरैको ध्यानाकर्षण भएको छ । अहिले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश संसदमा जति पनि सांसद्हरु छन, उनीहरु प्रायः सबैलाई कुनै न कुनै स्वास्थ्य समस्या अवश्य होला । केपी शर्मा ओलीलाई मात्र स्वास्थ्य समस्या भएको होइन । रोगविमार नलागेका तथा शतप्रतिशत निरोगी मानिसले मात्र राजनीतिक या अन्य खालको जिम्मेवारी समाल्ने मान्यता राख्ने हो भने नेपालमा कुनै पनि पदको जिम्मेवारी समाल्ने मानिस पाइने छैन । शतप्रतिशत निरोगी मानिसलाई जिम्मेवारी दियो भने पनि भोलि उसलाई रोगविमार लाग्ने नै छ । अनि के गर्ने ?

अस्वस्थ भएकै कारणले पद त्याग्नुपर्छ भन्नु दानवीय माग हो । यसो भन्नु भनेको तिमी कहिल्यै निको नहुनु भनेर श्राप दिनु हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेको पदीय जिम्मेवारी आकाशबाट प्राप्त भएको होइन, धरती फाटेर फुत्त जिम्मेवारी प्राप्त भएको पनि होइन । नेपाली कांग्रेस समेत सहभागी निर्वाचन प्रकृयाबाट प्राप्त जनादेश मार्फत् केपी ओलीलाई प्रधानमन्त्री पदको जिम्मेवारी प्राप्त भएको तथ्य दानवीय कुरा गर्नेहरुले बुझ्न जरुरी छ ।

विसंचो भएको मौका पारेर पद छाडिदेउ भन्नु दानवीय विचार हो । विसंचो भएको बेला स्वास्थ्य लाभको कामना गर्ने हो कि मौका यही हो भनेर छिर्के लगाउन खोज्ने ? नेपाली समाजले यस्तो दानवीय विचार तथा प्रवृत्ति पचाउन सक्दैन । तपाईंको घरमा विसंचो भएका मानिस छैनन् ? विसंचो भएका मानिसलाई हौसला दिने हो कि जाउ घाटतिर भन्ने हो ?

प्रधानमन्त्री ओली विरुद्ध दानवीय विचार व्यक्त गर्ने एक माननीय सदस्यले केही दिन अघि भनेको याद आउँछ । चिया खान बसेका थियौं, चिनी होलेको चिया खान्न भने उनले । गुनासो गर्दै उनले भने– एक छाक खाना जति त मैले औषधी नै खानुपर्छ । उनको म स्वास्थ्य लाभको कामना गर्छु । औषधी खान परेको कारणले उनलाई कसैले सांसद् पद छाडिदिनुस् भन्छ भने त्यो गलत हो भन्छु ।

विसंचो मानिसलाई विदा गरिदिनुपर्छ भन्ने विचार राख्नेहरुको कित्ताबाट प्रधानमन्त्री ओलीको मृत्यु कामना समेत आएको देखिन्छ । उनीहरुले त्यस्तो कामना गरेको देख्दा मलाई उहिले नै ‘कम्युनिष्टहरुले बुढाबुढीलाई मार्छन’ भनी गरिने प्रचारको याद आउँछ । बुढाबुढी, रोगी, अशक्तहरुले बाँच्न हुँदैन, कुनै पनि जिम्मेवारी लिन हुँदैन भन्ने विचार कसको चाहिँ रहेछ भन्ने अहिले छर्लङग भएको छ ।

समकालीन नेपाली राजनीतिका शीर्ष व्यक्तित्वहरु सबैलाई म चिन्दछु । प्रधानमन्त्री रहिसकेकाहरुलाई पनि चिन्दछु । सबैको सक्रियता मैले देखेकी छु । केपी शर्मा ओलीको जस्तो उर्जा र सक्रियता विरलै मानिसमा हुन्छ । बिहान सखारैदेखि राति १२ बजेसम्म निरन्तर खट्नसक्ने क्षमता ओलीमा छ । ओलीको स्वास्थ्यमा विभिन्न समस्या होलान, किनभने मानिस हो । स्वास्थ्य समस्यालाई जितेर मुलुकका लागि रातोदिन खटिरहने प्रधानमन्त्री ओलीलाई हतोत्साही बनाउने कि हौसला दिने ? तर, यहाँ त हतोत्साही बनाउने प्रयास भइरहेको छ । संगठित रुपमा तथा सुनियोजित रुपमा स्वास्थ्य अवस्थालाई लिएर प्रधानमन्त्री ओलीमाथि दानवीय हमला भइरहेको छ ।

विगतमा नेपालमा अनेक विकृत राजनीति भइसकेको छ । अनेक विकृति विसंगतिले नेपाली समाजलाई घाइते बनाइसकेको छ । हिजो नेपालमा जातथरको राजनीतिक अभियान चलाइयो । अहिले आएर रोगविमार तथा स्वास्थ्यलाई हतियार बनाएर आक्रमण गर्ने घिनलाग्दो राजनीति भइरहेको छ । नेपालको राजनीतिमा शुद्धिकरण आवश्यक छ । राजनीतिक शुद्धिकरणको प्रस्थान विन्दु भनेको विधि प्रक्रिया पालना गर्ने हो । जनादेशलाई सम्मान गर्ने हो । जनादेशलाई चोरबाटोबाट अवज्ञा नगर्ने हो ।

समकालीन नेपाली राजनीतिका शीर्ष व्यक्तित्वहरु सबैलाई म चिन्दछु । प्रधानमन्त्री रहिसकेकाहरुलाई पनि चिन्दछु । सबैको सक्रियता मैले देखेकी छु । केपी शर्मा ओलीको जस्तो उर्जा र सक्रियता विरलै मानिसमा हुन्छ । बिहान सखारैदेखि राति १२ बजेसम्म निरन्तर खट्नसक्ने क्षमता प्रधानमन्त्री ओलीमा छ 

यहाँनेर केही दिन अघिको चितवनको सुन्दर घटना याद आयो । पर्यटन मन्त्री योगेश भट्टराई र कांग्रेस नेता कृष्णप्रसाद सिटौला एकैपटक भरतपुर विमानस्थलमा पुगे । पहिले कृष्णप्रसाद सिटौलालाई स्वागत गरियोस् भनेर योगेशले सिटौलाप्रति उच्च सम्मान देखाए । उता भरतपुर विमानस्थलमा त्यस्तो संस्कार प्रदर्शन हुँदै थियो, यता काठमाडौंमा कांग्रेसका कतिपय जनप्रतिनिधिले दानवीय संस्कार प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको उपचारलाई हतियार बनाएर दानवीय आक्रमण गर्दै थिए ।

राजनीतिलाई सुन्दर बनाउँदै लैजानुपर्छ, घिनलाग्दो बनाउने काम गर्न हुँदैन । अरुको क्रियाशीलताको कामना गर्नुपर्छ, निष्क्रियताको कामना गर्न हुँदैन । अरुको स्वास्थ्यको कामना गर्नुपर्छ, रोग विमार लागोस, विसंचो होस् भनेर सत्तोसराप गर्न हुँदैन । जीवनको कामना गरौं, मृत्युको होइन । सकारात्मक बनौं, नकारात्मक होइन । याद गरौं, शरीरको रोगले सम्बन्धित व्यक्तिलाई मात्र पीडा दिन्छ तर व्यक्तिमा भएको वैचारिक रोगले समाज र देशलाई नै पीडा दिन्छ । यस्तो रोगको शिकार कोही नबनौं ।