जनता टाइम्स

१० असार २०८२, मंगलवार २०:१६

प्रविधि र पुँजी ल्याउँदा साम्राज्यवाद आउँछ भनिनु हुँदैन : प्रधानमन्त्री 


काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा र सिरहालाई जोड्ने कमला पुलको निर्माण कार्य सकेसम्म छिट्टै सुरु गरिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बजेट विनियोजन विधेयकमाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पुल निर्माणको विषयलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट गर्नुभयो । उहाँले कमला नदीमा पुल नहुँदा जनताले लामो समयदेखि समस्या भोग्दै आएको उल्लेख गर्दै अब पुल निर्माण कार्यमा ढिलाइ नहुने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्रीले अहिलेको सरकारले देशका सबै भूभागलाई समान दृष्टिकोणले हेरेर आवश्यक पूर्वाधार निर्माणमा काम गरिरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुनै ठाउँमा मात्र होइन, देशभरि बाटो, पुल, पूर्वाधारको आवश्यकता छ, सरकार त्यसमा गम्भीर छ ।’

राष्ट्रिय हितलाई केन्द्रमा राखेर सबै योजनाहरू कार्यान्वयन गरिने बताउँदै उहाँले विकासका काममा अवरोध पुर्‍याउने सोचबाट मुक्त हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशी प्रविधि र पुँजी भित्र्याउँदा अनावश्यक भ्रम फैलाउने कार्य नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रविधि र पुँजी ल्याउँदा साम्राज्यवाद आउँछ भनिनु हुँदैन, हामीले साम्राज्यवाद नपस्ने गरी विदेशी पुँजीको लगानी गर्छौँ, कुनै पनि विकासका लागि लगानी र ऋण ल्याउँदा राष्ट्रको आवश्यकता र औचित्यताका आधारमा सम्झौता गरिनेछ तर यसमा सङ्कीर्ण सोचमा हामी हुन्नौँ ।’

प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित बजेट विनियोजनको विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारको नीति विकास र समृद्धिको एजेण्डामाथि केन्द्रित रहेको बताउनुभयो ।  त्यसका लागि योजना बनाउने मात्र होइन, ती योजनाहरूलाई यथासम्भव छिटो कार्यान्वयन गर्ने दिशामा सरकार लागिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले निजामती सेवा सम्बन्धी विधेयक र विद्यालय शिक्षा विधेयक पनि सरोकारवाला पक्षहरूले उठाउने आवाज चाहे उठोस् वा नउठोस्, छिट्टै ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘हामी विधेयकहरूलाई लटकाएर राख्दैनौँ, सम्बन्धित निकायहरूसँग छलफल गरेर विधेयकहरू अगाडि बढाउने प्रक्रिया अघि बढिसकेको छ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले दैलेखमा हालसालै उत्खनन भएको मिथेन ग्याससम्बन्धी विषयमा पनि जानकारी गराउँदै त्यसको उत्पादन र सदुपयोगका लागि आवश्यक तयारी गरिरहेको बताउनुभयो । उहाँका अनुसार, आगामी आर्थिक वर्षभित्रै मिथेन ग्यासको उत्पादन र प्रयोग सुनिश्चित गर्न आवश्यक संरचना निर्माणमा सरकारले काम अघि बढाउनेछ ।

बैठकमा सांसदहरूले सरकारको प्राथमिकता, बजेटको वितरण, क्षेत्रीय असन्तुलन, विकास खर्चको कार्यान्वयन अवस्था, भ्रष्टाचार नियन्त्रण लगायतका विषयमा प्रश्न उठाएका थिए । ती प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले पारदर्शिता, जबाफदेहिता र प्रभावकारितामा आधारित शासन प्रणालीलाई अगाडि बढाइरहेको उल्लेख गर्नुभयो । उहाँले विकासका लागि आवश्यक ढाँचागत संरचना, विधि प्रक्रिया र नीति व्यवस्थापनमा सरकार गम्भीरतापूर्वक क्रियाशील रहेको पनि बताउनुभयो ।

सरकारले विकासको गतिमा अवरोध नआउने गरी ठोस काम गर्न चाहेको उहाँले बताउनुभयो । विगतमा योजनाहरू घोषणा गरिए पनि त्यसको कार्यान्वयन नभएका कारण जनतामा निराशा छाएको बताउँदै उहाँले अब त्यो अवस्था दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।