जनता टाइम्स

८ भाद्र २०८०, शुक्रबार ११:५९

जुवा खालबाट रंगेहात समातिए गाउँपालिका अध्यक्ष


पोखरा, भदौ ८ । पोखराबाट पक्राउ परेका जुवाडेको टोलीमा गाउँपालिका अध्यक्षसमेत रहेको तथ्य खुलेको छ । प्रहरीले नाम ढाँटेर गाउँपालिका अध्यक्षले आफ्नो पहिचान लुकाएको बताएको छ ।

पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको थियो । उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद गरेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

अध्यक्ष लालचनले आफ्नो नाम ढाँटेर मोहन थकाली भनेका थिए । पक्राउ पर्ने अन्यमा मुस्ताङ घोरपझोङका ५७ वर्षीयका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन छन् । सातैजनालाई आज म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीको तयारी छ । लालचन नेपाली कांग्रेसका नेतासमेत हुनुहुन्छ ।