काठमाडौं, भदौ ९ । नेकपा एकीकृत समाजवादीभित्रको बिवाद चरम सीमामा पुगेको छ । अध्यक्ष माधवकुमार नेपालको कार्यशैली र नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै सम्मानित नेता झलनाथ खनालले फरक मतसहित नेतृत्वको लागि तयारी अघि बढाएपछि सो पार्टीभित्रको बिवाद छताछुल्ल बनेको हो ।
नेकपा एसको महाधिवेशनको तयारी अघि बढेसँगै खनालले पार्टीभित्र आन्तरिक रुपमा पार्टी नेतृत्व परिवर्तनको गृहकार्य अघि बढाउनु भएको छ । अध्यक्ष नेपालसँग पार्टीका सम्मानित नेता खनाल निकै असन्तुष्ट बनेर अध्यक्षबाट हटाउने योजना बनाएपछि नेपाल पनि उहाँसँग चिढिएको एक नेताले जनताटाइम्स डटकमलाई बताए । ती नेताका अनुसार केही समययता माधव र झलनाथबीच शीतयुुद्ध नै चलेको छ ।
बिगत ६ महिनादेखि माधवबिरुद्ध मोर्चावन्दी गर्दै आउनु भएका खनाल अव भने पार्टीको नेतृत्व आफैले गर्नेगरी आन्तरिक तयारी थाल्नुभएको छ । यसैको तयारी स्वरुप खनालले पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष नेपालले राखेको प्रतिवेदनमाथि फरक मत राखेको ती सदस्यको भनाई छ । खनालले केही समयअघि नै माधवबाट अव पार्टी अघि नबढ्ने निष्कर्षसहित निकटतम नेताहरुमाफृत आफ्नो टीम बनाउन सक्रिय बन्नुभएको बताइएको छ ।
पछिल्लो समय अध्यक्ष नेपाल र नेता खनालबीचको दूरी पनि निकै बढेको छ । गठबन्धनदेखि समाजवादी मोर्चा गठनको विषयमा पनि खनालले चरम असन्तुष्टि पोख्नुभएको छ । खनाल निकट नेताका अनुसार माधवले पार्टीलाई नै कांग्रेस र माओवादीको पिछलग्गु बनाएको निश्कर्षमा खनाल हुनुहुन्छ । वर्ग शत्रु किटान नगरी कांग्रेस र माओवादीको पिछलग्गू भएर हिँड्न नहुने खनालको अडान छ ।













प्रतिक्रिया दिनुहोस्