काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काममा सरकार र सत्तारुढ गठबन्धन आफैँ संलग्न रहेको आरोप लगाउनुभएको छ । आज राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै न्यौपानेले सत्तारुढ गठबन्धनले जातीय सद्भावमा खलल पुर्याउने खालका गतिविधि गरिरहेको उल्लेख गर्दै तत्काल त्यस्ता खालका गतिविधिलाई नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको हो ।
सांसद न्यौपानेले बहुजात, बहुधर्म, बहुसंस्कृति नेपालको पहिचान भएपनि त्यसमाथि खलल पुर्याउने काम सत्तारुढ गठबन्धनबाटै हुनु मुलुकको लागि दुःखद भएको समेत बताउनुभयो । सांसद न्यौपानेले भन्नुभयो, ‘आज धार्मिक सहिष्णुतामाथि खलल पुग्ने खालका गतिविधिहरू सञ्चालन भइराखेका छन् । वास्तवमा बहुजात, बहुधर्म, बहुसंस्कृति हाम्रो नेपालीहरूको जे पहिचान छ। त्यो हाम्रो गर्व हो। अभिशाप होइन । जातीय सद्भावमा खलल पुग्ने गरी जे गतिविधिहरू सञ्चालन भइराखेका छन् । त्यो अत्यन्तै दुःखद छ ।’
सांसद न्यौपानेले संविधान विपरीत गएर सत्तारुढ गठबन्धनले कोशी प्रदेश सरकार निर्माण गर्ने काम गरिरहेको पनि बताउनुभयो । उहाँले थप्नुभयो,‘आज कोशीमा पहिचानको नाममा जातीय सद्भावमा खलल पुग्ने गरी गतिविधिहरू भइरहेका छन् । त्यसलाई उक्साउने काम गठबन्धनबाटै भइरहेको छ। त्यसलाई नियन्त्रण गर्न भन्दा, जातीय सद्भाव कायम गर्न भन्दा त्यसलाई उक्साउने र अराजकतातिर लैजाने खालको परिस्थितिहरू आज गठबन्धनबाट, सरकारबाट त्यस्ता खालको गतिविधिहरू भइराखेका छन् ।’
न्यौपानेले संविधान जोगाउनका निम्ति गठबन्धन बनाएको झुठो कुरा गरेर अहिले आफै संविधान मिचिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, म सचेत गराउन चाहन्छु–मिलेर बसेका नेपालीहरूलाई जातजातिको नाममा लडाई गराएर यो देशलाई रुवान्डा बनाउन हामी चाहँदैनौँ । त्यसैले त्यसतर्फ सरकारको ध्यान जाओस् । वास्तवमा अहिले चर्चामा छ, कोशी प्रदेश । यो संविधान जोगाउनका निम्ति गठबन्धन बनाएको भनेर दाबी गर्नेहरू धन्य छ गठबन्धन ।’













प्रतिक्रिया दिनुहोस्