जनता टाइम्स

१० भाद्र २०८०, आईतवार १६:१५

आज पनि भएन सन्दीपको मुद्दाको फैसला


काठमाडौं, १० भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजको पेशी पनि स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो।

लामिछानेले नाबालिगलाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दा अन्तिम सुनुवाइ हुन तयार भएपछि पनि जिल्ला अदालत काठमाडौंमा १० पल्ट पेशीमा चढिसकेको छ। अन्तिम सुनुवाइका लागि पेशीमा चढ्न थालेको सात महिना पुगे पनि बहस सुन्ने र फैसला सुनाउने काम भएको छैन। प्रायजसो पेशी ुहेर्न नभ्याइनेुमा परेको छ। कतिपय अवस्थामा सरकारी वकिलले स्थगित गराएका छन्।

यो मुद्दामा प्रमाण जुटाउने प्रक्रिया पूरा भएर अन्तिम सुनुवाइमा चढेको गत माघदेखि हो। त्यसयता १२ पटक पेशी सूचीमा यो मुद्दा चढेको छ।

नाबालिग बलात्कारजस्तो निरन्तर सुनुवाइ गर्नुपर्ने, त्यसमाथि सर्वोच्च अदालतले समेत फास्ट ट्र्याकमा सुनुवाइ गर्न आदेश दिएको मुद्दामा यस्तो सुविधा अभियुक्तलाई दिन नमिल्ने अदालतकै कर्मचारीहरू बताउँनुहुन्छ । घटना भएको एक वर्ष र अदालतमा मुद्दा पुगेको नौ महिना बितिसक्यो।