जनता टाइम्स

१३ भाद्र २०८०, बुधबार १२:२६

एमसीसीको व्याख्यात्मक सत्ता गठबन्धनले जनतालाई दिएको धोका हो : अध्यक्ष ओली


विराटनगर, १३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाटै पास भइसकेका कारण एमसीसी कार्यान्वयनमा जाने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले संसदबाटै पास भइसकेको एमसीसी कार्यान्वयनमा जाने कुरामा कुनै दुविधा नरहेको बताउनुभयो । ‘संसदबाट अनुमोदन भइसकेको कुरा कार्यान्वयनमा जान्छ,’ उहाँले भन्नुभयो, ‘एमसीसी पास गर्नु उपयुक्त हो कि हैन भनेर त्यतिबेलै सोच्नुपर्ने थियो ।’

तर, संसदबाट एमसीसी पास गर्ने बेलामा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई भने उहाँले झुटको खेस्रो भन्नुभएको छ ।

‘१२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो हो । झुटको खेस्रो उहाँहरु (सत्तापक्ष)ले जनतालाई दिएको धोका हो,’ ओलीले भन्नुभयो, ‘संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो । त्यसलाई एमसीसीले मान्दैन ।’

सत्तापक्षले १२ बुँदे व्याख्यात्मक घोषणा गरेपछि मात्रै संसदबाट एमसीसी अनुमोदन भएको थियो । त्यही घोषणा झुटको खेस्रो र जनतालाई दिएको धोका भन्दै ओलीले व्याख्यात्मक घोषणा एमसीसीले नमान्ने जिकिर गर्नुभयो । एमसीसीका सन्दर्भमा व्याख्यात्मक घोषणा गर्दै सरकारले त्यतिबेला नेपाली जनतालाई धोका दिएर झुट बोलेको आरोप लगाउनुभयो ।