जनता टाइम्स

१५ भाद्र २०८०, शुक्रबार १२:२३

आठ वर्षपछि तातोपानी नाकाबाट मानिसको आवतजावत सुरू


सिन्धुपाल्चोक, भदौ १५। नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिसको आवतजावत सुरु भएको छ ।

आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए ।

नाका खुलाउन नेतृत्वदायी भूमिका खेलेका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुग्नुभएको थियो । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुगेका उहाँले अब नाका पूर्ण सञ्चालनमा आएको बताउनु भयो।

विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्पबाट सृजित कठिनाइ पन्छाएर सीमितरुपमा मात्रै सञ्चालन भएको नाका विसं २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि नाका पुनःबन्द भएको थियो ।

चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै मानिस आवतजावतका लागि संसद्मा सापकोटाले आवाज पनि उठाउनु भएको थियो । साथै कूटनीतिक भेटघाट तथा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।

केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाउनु भएको थियो। त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।