जनता टाइम्स

१९ भाद्र २०८०, मंगलवार ११:३९

बिद्यालय परिसरमै वडाध्यक्षबाट कुटिए शिक्षक


गुल्मी, भदौ १९ । गुल्मीको मालिका गाउँपालिका–७ को देवीस्थान माविमा कार्यरत शिक्षक यमलाल पन्थी जनप्रतिनिधिबाटै कुटिएका छन् । पन्थीलाई नेपाली कांग्रेसका नेतासमेत रहेका वडाध्यक्ष हिराबहादुर कार्कीले कुटपिट गरेका हुन् ।

पन्थीले श्रीमती जानकी पाण्डेयको सरुवाको विषयमा आक्रोशित हुँदै वडाध्यक्ष कार्कीलाई अपशब्द बोलेपछि कुटपिटको अवस्था सिर्जना भएको हो । ‘सानो बच्चाकी आमालाई नियत राखेर सरुवा गरेपछि निकै सास्ती भएको छ । मैले त्यही आक्रोश वडाध्यक्षलाई पोखेँ,’ पन्थीले भन्नुभयो, ‘सहजीकरणको सट्टा कुटाइ खाएँ ।’ पन्थीले ०७६ बाट विद्यालयमा पढाउँदै आएका छन् ।

पालिकाले आफ्नी श्रीमती जानकी पाण्डेयलाई गत साउनमा वडा नम्बर–७ कै मैदानचौर प्राविबाट बरारूख प्राविमा करिब डेढ घन्टाको दूरीमा सरुवा गरेको शिक्षक पन्थीले बताउनु भयो । वडाध्यक्ष कार्कीले आफूलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेपछि हातपात भएको स्वीकार गर्नुभएको छ ।