जनता टाइम्स

२२ भाद्र २०८०, शुक्रबार १४:१२

हिक्मत कार्की मुख्यमन्त्री नियुक्तिपछि एमालेले अन्य दलसँग छलफल गर्ने


काठमाडौं, २२ भदौ । कोशी प्रदेशले भोलिसम्म नयाँ मुख्यमन्त्री पाउँदैछ । सर्वोच्च अदालतले हिजो सबैभन्दा ठूलो पार्टीका नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएपछि कोशीले भोलिसम्म नयाँ मुख्यमन्त्री पाउन लागेको हो । सबैभन्दा ठूलो दलको हैसियतमा कोशीमा नेकपा एमालेले सरकार गठन गर्नेछ । एमाले कोशी संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुहुनेछ ।

एमालेले कोशीमा सरकार गठन गरेपनि बहुमत भने पुग्दैन । बहुमत पुर्‍याउन एमालेले अन्य दलसँग छलफलको तयारी गरेको छ । एमालेले कांग्रसे, माओवादी केन्द्रलगायत दलसँग छलफल अगाडि बढाउने तयारी गरेको हो । मुख्यमन्त्री नियुक्ति पछि अन्य दलसँग छलफल गर्ने एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

उहाँले मुख्यमन्त्री नियुक्ति र शपथपछि लचकदार भएर अन्य दलसँग छलफल गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मुख्यमन्त्री नियुक्त हुनुपर्यो, शपथ ग्रहण हुनुपर्‍यो हामी दलहरुसँग एकदम लचकदार भएर प्रस्तुत हुन्छाँै । हामीले बारम्बार के भनेका छौ भने अरु दललाई यो हिसाबले सरकार चल्दै त्यसैले नयाँ खालको सहमति कायम गरौं । पहिला पनि प्रस्ताव राख्दै आएका हौँ । अब सरकार गठन भएपछि फेरि निरन्तर दलहरुसँग छलफल गर्छौँ ।’

प्रमुख सचेतक भण्डारीले एमालेको पक्षमा बहुमत पुर्याउन अन्य दलसँग छुट्टाछुट्टै र संयुक्त रुपमा छलफल अगाडि बढाइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘संयुक्त रुपमा पनि छलफल हुन्छ, अलग अलग पनि छलफल हुन्छ । प्रदेशसभा प्रतिपक्षविहिनको सम्भावना नहोला त्यसलाई पनि ख्याल गरेर हामी संख्याको आधारमा उपयुक्त निर्णय लिन्छौँ । कांग्रेससँग पनि हामी तयार छौँ । अन्य दलहरुसँग पनि छलफल गर्छौं ’ कांग्रेसबाट मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापाले पाएको विश्वासको मत बदर गर्दै सर्वोच्च अदालतले हिजो २४ घण्टाभित्र सबैभन्दा ठूलो पार्टीको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।