जनता टाइम्स

२३ भाद्र २०८०, शनिबार १७:३३

कोशीको समस्या समाधन गर्न माधवले सुझाए दुई बिकल्प


काठमाडौं, भदौ २३ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशको समस्याबारे दुई उपाय सुझाउनु भएको छ । देशमा समस्या पर्दा आफ्नो पार्टीलाई खोज्ने गरेको बताउँदै नेपालले कोशी प्रदेशको समस्यामा पनि खोजी भएको भन्दै दुई उपाए सुझाउनु भएको छ ।

नेकपा एकीकृत समाजवादीको जनसंगठन ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले अहिले कोशी प्रदेशको विषयलाई लिएर आफ्नो पार्टीलाई मिलेर अघि बढौं भन्ने प्रस्ताव आएको बताउनु भयो । कोशीको प्रसंग उठाउँदै नेपालले भन्नुभयो, ‘कोशीमा यसबीचमा कतिवटा सरकार बनिसक्यो । पहिले एक मुख्यमन्त्री थिए । उनले राजीनामा दिए । फेरि अर्को मुख्मन्त्री भए । अब कहिलेसम्म यस्तो चल्ने हो थाहा छैन ।’

नेपालले थप्नुभयो, ‘किन यस्तो भइरहेको छ ? किनकी निर्वाचन प्रणाली हो । बराबर मत हुने भएपछि यस्तो अवस्था आइरहेको छ । यस्तो जटिल अवस्थामा दुई वटा समाधान छन् कि मिलेर जानु कि निर्वाचनमा जाने ।’ उहाँले पटक–पटक सरकार फेरिनु पर्ने कारणमा निर्वाचन प्रणाली नै भएको ठोकुवासमेत गर्नुभयो ।

कोशीमा निर्वाचन भएपनि आफूहरुलाई डर नभएको पनि उहाँले बताउनु भयो । मध्यावधी चुनाव भए ४ को ठाउँमा डलब सीट जित्ने नेपालको दावी थियो ।