जनता टाइम्स

२५ भाद्र २०८०, सोमबार १८:३४

कार्यकर्तालाई प्रधानमन्त्री प्रचण्डको निर्देशन : इँटको जवाफ पत्थरले दिनुस्


विराटनगर, २५ भदौ । शान्ति सुरक्षाकोसमेत जिम्मेवारी लिएका मुलुकको कार्यकारी प्रमुखले सोमबार विराटनगरमा हिंसात्मक अभिव्यक्ति दिनुभएको छ । समाजवादी मोर्चाको सन्देश सभा नाम दिएको सो कार्यक्रममा कार्यकर्तालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘ईटको जवाफ पत्थरले दिन’ निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘निरंकुशताका दलालहरु अहिले सक्रिय हुन खोजी रहेका छन् । जसको चरित्र गुण्डाको भन्दा फरक छैन । लोकतन्त्रवादी नेता, गठबन्धन सरकारमै भएको नेतालाई उसले खुकुरी हान्ने । उनीहरुको मनोबल कस्तो रहेछ ? तपाईं हामी चाहिँ बडो रक्षात्मक । अब समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलोेज हुन्छ त्यहाँ इटको जवाफ पथ्थरले दिनुस् । हामी जुरुक्क उठेपछि कसैको केही लाग्नेवाला छैन ।’

उहाँले सुदुरपश्चिममा पनि कार्यक्रम सकिएपछि लाखौं जनतालाई सडकमा उतार्ने कार्यक्रमको घोषणा हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यी गुण्डा, प्रतिगामी दलालहरुलाई हामी ज्यूँदैछौं भन्ने देखाउनुपर्यो । जनता जीवित छन् भन्ने देखाउनपर्यो अनिमात्रै हाम्रो जीत हुन्छ ।’