काठमाडौं, ३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण मुलुक प्रतिकुल अवस्थामा रहेको बताउनुभएको छ ।
आज भक्तपुरमा विद्यार्थीहरुसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले गठबन्धन सरकारका कारण सुशासन, विकास लगायतका हिसाबले देश अन्त्यन्तै प्रतिकुल अवस्थामा रहेको बताउनुभएको हो । उहाँले अहिलेको समय देश अत्यन्तै प्रतिकूल अवस्थामा रहेको बताउँदै युवा हस्तक्षेपको आवश्यकता रहेको बताउनुभयो । ओलीले गठबन्धनको नाम लिएर प्रोफेसर कुट्ने र गुण्डागर्दीमा उत्रिँदा पनि सरकार मौन रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो,‘अब युवा हस्तक्षेपको आवश्यकता छ, युवाहरूले यसमा हस्तक्षेप गर्नुपर्छ । त्यतिकै कुनै अनुभव नभएका मान्छेले आवेशमा देशको नेतृत्व गर्छन् भन्ने कुरा गलत हो । पानीमा नपसेको मान्छेले पौडी राम्रो खेल्छ भन्नु गलत हो । फुटबल ग्राउन्डमा नपसेको मान्छेले फुटबल राम्रो खेल्छ भन्नु गलत हो । त्यो सम्भव छैन, त्यसकारण जे सुकै कुराको लागि पनि अनुभव चाहिन्छ ।’
उहाँले युवाले राजनीतिक हस्तक्षेप गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि परिपक्व पार्टी, परिपक्व साथ लिएर राष्ट्रिय अभियान चलाउन आवश्यक रहेको बताउँदै त्यसपछि मात्रै देश बनाउन सकिने बताउनुभयो । उहाँले विद्यार्थीहरुको प्रश्नको जवाफ दिँदै ओलीले आफू अझै २० वर्ष सक्रिय रहने भन्दै आफू सक्रिय रहँदा नै योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिने धारणा व्यक्त गर्नुभयो ।
उहाँले दुई पटक शल्यक्रिया गरेपछि अहिले आफ्नो स्वास्थ्य पूर्ण रुपमा ठिक रहेकाले २० वर्ष देशलाई अघि बढाउन भूमिका खेल्ने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले जनताले आफूलाई जेलबाट छुटाएर विभिन्न पद हुँदै प्रधानमन्त्रीसम्म बनाएको भन्दै जनताप्रति अन्त्यन्तै आदरभाव राख्ने धारणा व्यक्त गर्नुभयो ।














प्रतिक्रिया दिनुहोस्