काठमाडौं, असोज १ । काठमाडौंको तीनकुनेस्थित दिव्य सः मिल तथा काष्ठ उद्योगमा शुक्रबार राति भएको सामुहिक हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि उत्पन्न आवेगको दुश्परिणाम देखिएको छ । मोटरसाइकलले दिएो ठक्करको बदला लिँदा सो हत्याकाण्ड भएको तथ्य प्रहरी अनुसन्धानमा खुलेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी बरिष्ठ उपरक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताउनु भयो ।
एसएसपी राठौरका अनुसार केही समयअघि नवीन भनिने विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएका थिए । ठक्कर दिएपछि राईले उनलाई कुटपिट पनि गरेका थिए । जन्मजात बोल्न नसक्ने भण्डारीले त्यसपछि राईसँग पटकपटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका थिए ।
’कुरा हुन नसकेपछि शुक्रबार भण्डारी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने काठ मिलमा गएका थिए । प्रहरीका अनुसार मिलमा भण्डारीले सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरे । त्यसपछि त्यहाँ अरू मान्छे पनि देखेपछि उनीहरूले प्रहरीलाई भनिदिन्छन भन्ने ठानेर अरू तीन जनाको पनि त्यही खुकुरीले हानेर हत्या गरेका थिए ।
घटना थाह नहोस भनेर भण्डारीले राईपछि सोही मिलमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उहाँकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको पनि हत्या गरेका थिए । चार जनाको हत्या गरेर भण्डारी काँडाघारीस्थित दिदीभिनाजुको घरमा गएर बसेका थिए ।आइतबार बिहान उनी काठमाडौंमा प्रहरीले पक्रिन सक्ने ठानेर सिन्धुपाल्चोक जान लागेका थिए । ’प्रहरीले उनलाई सिन्धुपाल्चोक जान लाग्दा पक्राउ गरेको थियो ।
एसएसपी राठौरका पक्राउ पर्दा उनले हत्या भएको दिन लगाएका लुगा नै लगाएका थिए भने झोलामा खुकुरी राखेका थिए । भण्डारीको बयान लिन प्रहरीले सांकेतिक भाषा विज्ञलाई बोलाएको थियो । भण्डारीले सुरूमा आफूले चार जनाको हत्या गरेको भन्दै कापीमा अंग्रेजीमा लेखेका थिए, ’आई किल्ड फोर पिपल।’
प्रतिक्रिया दिनुहोस्