काठमाडौं, असोज २ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चित्तबुझ्दो काम गर्न नसकेको भन्दै विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।
केन्द्रीय कार्यसमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न आज कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको संस्थापन इतर समुहको भेलाले सरकारको काम चित्त बुझाउने खालको नभएकोले बिकल्प खोज्नुपर्ने भन्दै केन्द्रीय समिति बैठकमा त्यसबारे कुरा उठाउने निर्णय गरेको हो ।
भेलामा सहभागी कोइरालानिकट केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले वर्तमान सरकारप्रति चित्त बुझाउने आधारहरू नरहेको निष्कर्षमा पुगेको जानकारी दिनुभयो ।
‘सरकारका गतिविधिमा चित्त बुझाउने अवस्था छैन । सरकारमा हाम्रो नेतृत्वमा छैन, तर सरकारमा हाम्रो पार्टी पनि सहभागी छ, त्यसैले सरकारले गरेका कामलाई नजिकबाट निगरानी र नियन्त्रण हाम्रो दायित्व हो,’ भेलाको निश्कर्ष सुनाउँदै गौतमले भन्नुभयो, ‘सरकारले जनताको दैनिकीलाई छुन सकेको छैन । सरकारका काम, सरकारले लिइरहेका निर्णयहरू ठीक छैनन् भन्ने हाम्रो निष्कर्ष छ । हामी यसबारे पार्टीको केन्द्रीय समिति बैठकमा कुरा उठाउने निर्णय भयो ।’
बैठकमा नेता कोइरालासहित उपसभापति एवं कानूनमन्त्री धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसहित कोइराला समूहका नेताहरु सहभागी हुनुहुन्थ्यो । भेलामा यसअघि आमनिर्वाचनमा पार्टीबाट बागी उम्मेदवार बन्दा पार्टीबाट निष्कासित भएका केन्द्रीय सदस्य दिनेश कोइरालासमेत सहभागी हुनुहुन्थ्यो ।
बैठकले केन्द्रीय कार्यसमिति बैठकमा कसरी प्रस्तुत हुने भनेर तयारी गरेको छ । भेलामा ‘पार्टी र देशलाई कसरी अघि बढाउने ? त्यसमा पार्टीको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने विषयहरूमा तयारी भएको समेत सहभागी नेताहरुले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्