जनता टाइम्स

२ आश्विन २०८०, मंगलवार १९:१२

राष्ट्रपतिबाट ६ सय ७० जना कैदीको सजाय मिनाहा


काठमाडौं, असोज ३ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीहरुको कैद कट्टा गरी सजाय माफी मिनाहा दिनुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा मंगलबार विभिन्न ऐन, नियमअनुसार बुधबारदेखि लागू हुने गरी ६ सय ७० जनाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

’राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली, २०२० को साविकको नियम १ र १ क. लाई कायमै गर्ने गरेको सर्वोच्च अदालतको रिट नम्बर ०७६–WO–०९३९ र रिट नम्बर ०७९–WO– ०१४७ को फैसला तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ समेतका आधारमा संलग्न सूचीबमोजिमका उल्लिखित भीमबहादुर खवाससमेत ४९७, हर्कबहादुर लिम्बुसमेत १७० र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँसमेत ३ जना गरी जम्मा ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को २०८०/०५/२९ को बैठकको सिफारिस बमोजिम २०८०/०६/०३ गतेदेखि लागू हुने गरी संविधान दिवस, २०८० को अवसरमा माफी मिनाहा भएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।