जनता टाइम्स

३ आश्विन २०८०, बुधबार ०८:५२

राष्ट्रिय उपलब्धीहरूलाई समाप्त पार्ने खेल भइरहेको छः अध्यक्ष ओली


काठमाडौं, असोज ३ । नेकपा एमाले का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय उपलब्धीहरूलाई समाप्त पार्ने खेल भइरहेको बताउनुभएको छ ।
संविधान दिवसको सन्दर्भमा काठमाडौंको नक्सालस्थित नारायणचौरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विभाजनकारी प्रवृत्तिहरू, जनतामा फाटो ल्याउने प्रवृत्तिहरू, राष्ट्रिय एकतालाई खलल पुर्‍याउने प्रवृत्तिहरू देखा पर्न थालेको बताउनुभएको हो।

‘हामी नेपाल सचेत र सजग रहनुपर्छ। हाम्रा उद्देश्य, कर्तव्य र हाम्रो एकतालाई बिर्सन र कमजोर बनाउन दिनुहुँदैन,’ उहाँले भन्नुभयो, ‘हाम्रो संविधान राष्ट्रिय एकता र सबलताको संविधान हो। जनताका लागि जनताले बनाएको संविधान हो। कहीँ कतै हाम्रा उपलब्धीहरूलाई समाप्त पार्न खोज्ने, या त अभिव्यक्तिबाट, या ता क्रियाकलापबाट, यस्ता प्रयासहरू भइरहेको छ।

’जुनसुकै नाम, आवरणको भए पनि राष्ट्रिय एकतालाई खल्बल्याउने खालका विचारहरू सकारात्मक कुरा हुन नसक्ने उहाँको भनाइ थियो। ‘विभाजनकारी प्रवृत्तिहरू, जनतामा फाटो ल्याउने प्रवृत्तिहरू, राष्ट्रिय एकतालाई खलल पुर्‍याउने प्रवृत्तिहरू अनेकौं प्रकारका क्षेत्रीयतावादी, साम्प्रदायिक, जातीयतावादी, राजनीतिक नाममा हुने, गरिने त्यस्ता उच्छृङ्खल गतिविधिहरू राष्ट्रिय एकताको पक्षधर हुन सक्दैनन्,’ उहाँले भन्नुभयो। राष्ट्रिय एकताको भावनालाई क्षीण बनाउने गतिविधि हुँदा सरकारले देखावटी कुरा गर्नु नहुने उहाँको जोड छ। सरकारले भित्र एउटा, बाहिर अर्को कुरा गर्दा राष्ट्रिय एकताको भावनालाई कमजोर बनाउने अध्यक्ष ओलीले बताउनुभयो ।