जनता टाइम्स

४ आश्विन २०८०, बिहीबार १५:२०

पार्टी र नेताको नाममा सञ्चालित फेसबुक एकाउण्टप्रति कठोर बन्यो एमाले, १५ दिनभित्र सम्पर्कमा नआए कानूनी कार्वाहीको चेतावनी


काठमाडौं, असोज ४ । नेकपा एमालेले पार्टी र पार्टी नेतृत्वका नाममा अनधिकृत रूपमा फेक आईडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत् भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आम नागरिक र पार्टीपङ्तीभित्र अफवाह फैलाइएको भन्दै सवैलाई सचेत गराएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले आज बिज्ञप्ति जारी गरी यस्तो जनाउनु भएको हो ।

‘सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको छ । यसले पार्टीपङ्ती र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको छ । तसर्थ, सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउण्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ,’ प्रमुख गौतमले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ ।

बिज्ञप्तिमा पार्टीका नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चालकहरूलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन सूचित गरिएको छ । ‘समयभित्र नआए यस्ता फेक एकाउण्ट सञ्चालकहरूका बारेमा आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने कुरा सूचित गरिन्छ,’ बिज्ञप्तिमा भनिएको छ ।

 

बिज्ञप्तिको पूर्णपाठ

नेकपा (एमाले) र पार्टी नेतृत्वका नाममा अनधिकृत रूपमा फेक आईडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत् भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आम नागरिक र पार्टीपङ्तीभित्र अफवाह फैलाइएको पाइएकाले त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको छ । यसले पार्टीपङ्ती र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको छ । तसर्थ, सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउण्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ ।

पार्टीका नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चालकहरूलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध गरिन्छ । अन्यथा, यस्ता फेक एकाउण्ट सञ्चालकहरूका बारेमा आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने कुरा सूचित गरिन्छ ।

राजेन्द्र गौतम
प्रमुख
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग