काठमाडौं, ७ असोज । सभामुख देवराज घिमिरे सातदिने आयरल्याण्ड भ्रमण पूरा गरी स्वदेश फर्किनुभएको छ । आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणमा आयरल्याण्डको राजधानीबाट डब्लिन पुगेको सभामुख नेतृत्वको प्रतिनिधि मण्डल आइतबार बिहान स्वदेश फर्किएको हो ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले संसदमा दर्ता भएको शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पत्रकारले शिक्षा विधेयकका सम्बन्धमा भएका विरोध र आन्दोलनबारे सोधेको प्रश्नमा सभामुख घिमिरेले आफूले विधेयकलाई अगाडि बढाउन ‘सभामुखीय भूमिका’ निर्वाह गर्ने जवाफ दिनुभएको हो ।
‘विधेयकलाई अगाडि बढाउन सभामुखको भूमिका जे हुनुपर्छ, त्यही गर्छु,’ उहाँले भन्नुभयो, ‘विधेयक सदनमा लैजाने, छलफल गर्ने, सहमति गर्ने, सहमति भएन भने प्रक्रियाबाट टुंग्याउने काम हुन्छ ।’ उहाँले भ्रमणका दौरानमा आयरल्याण्ड र नेपालबीचको संसदीय आदान प्रदान लगायतका विषयमा गम्भीर छलफल भएको जानकारी दिनुभयो ।
‘दुवै मुलुकका संसदबीचको सम्बन्ध गाढा बनाउने विषयमा मैले आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेल र माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग छलफल गरेको छु,’ उहाँले भन्नुभयो, ‘संसदका कर्मचारीको दक्षता अभिवृद्धि गर्नेबारे पनि हामीले छलफल गरेका छौं ।’
सभामुख घिमिरेले राष्ट्रपति, मन्त्रीहरुरूसँगको भेटले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा मुलुकले लाभ लिन सक्ने वातावरण निर्माण भएको जानकारी दिनुभयो । उहाँले नेपाली विद्यार्थीलाई दिन सक्ने सहुलियत, भिसाको प्रबन्ध, प्राविधिक दक्षतासहितका नेपाली जनशक्तिको रोजगार लगायतका विषयमा छलफल भएको बताउनुभयो । स्वास्थ्य र कृषिमा आयरल्याण्डले विकास गरेका प्रविधि र लगानी नेपाल भित्र्याउनेबारे पनि छलफल भएको सभामुख घिमिरेको भनाइ छ ।
भ्रमणमा सभामुख घिमिरिले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्स, संसदको दुवै सदनका सभामुख र अध्यक्ष, सरकारका वरिष्ठ मन्त्रीहरू, नेपाली समुदाय लगायतसँग छलफल र भेटघाट गर्नुभएको थियो । सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्