जनता टाइम्स

७ आश्विन २०८०, आईतवार १८:५५

यो सरकारलाई टिपेर मिल्काउनु पर्ने अवस्था आइसक्यो : केपी ओली


काठमाडौं, असोज ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देश बर्वाद बनाएकोले अव टिपेर फाल्नुपर्ने बताउनु भएको छ ।

ओखलढुंगामा आइतबार गुरू लुइँटेल स्मृति पार्क उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले बर्तमान सरकारले जनतालाई नहेरेको कारण फाल्नुपर्ने बताउनु भयो ।

‘अहिलेको सरकार बसिरहन हुन्छ ? तपाईंहरू भन्नुस त, यस्तो सरकार राख्न हुन्छ ?,’ ओलीले भन्नुभयो, ‘तपाईं–हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो।’

सरकारले जनता नहेरेको तर सुन हेरिरहेको ओलीको भनाई थियो । ‘यति नालायक जनता हेर्दैन, सुनतिर हेर्छ,’ ओलीले भन्नुभयो । सरकारकै संरक्षणमा ब्रेक शुदेखि इलेक्ट्रिक भेपसम्ममा सुन आइरहेको ओलीले बताउनु भयो ।

‘बुढाबुढीले आशीर्वाद दिनुहुन्थ्यो–माटो छुँदा अन्नै होस्। ढुंगा छुँदा द्रव्य होस् भनेर अहिले त जे छोयो त्यही सुन, तर हेर्नाेस त माओवादी नेतृत्वको सरकार। क्रान्तिकारी र परिवर्तनकारी सरकार। कस्तो, भ्रष्टाचारी र तस्करी,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले देशमा हिंसा भड्काउने प्रयास भइरहे पनि सरकार हेरेर बसेको बताउनु भयो। सरकारले नौ महिनामा केही काम नगरेको भन्दै ओलीले थप्नुभयो, ‘यो सरकारले नौ महिनामा एउटा सिन्को पनि भाँचेन, एउटा कानुन बनेको छैन संसदबाट।’