जनता टाइम्स

८ आश्विन २०८०, सोमबार १९:५९

प्रदेश अधिवेशनमा प्यानल बनाएर चुनावमा जान प्रतिबन्ध, प्यानल बनाए सवैको उम्मेदवारी खारेज गर्ने अध्यक्ष ओलीको चेतावनी


काठमाडौं, असोज ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समुह बनाएर चुनाव नगर्न बागमति प्रदेशका नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आजबाट सुरु भएको बागमती प्रदेशको प्रथम अधिवेशनको उदघाटन समारोहमै अध्यक्ष ओलीले प्यानल बनाएर चुनाव गर्न रोक लगाउनु भएको हो । उहाँले पार्टीको प्रदेश अधिवेशनले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्नेमा पनि जोड दिनुभयो । लोकतन्त्रमा निर्वाचनमात्र हैन, सहमति अझ सुन्दर पक्ष रहेको भन्दै अध्यक्ष ओलीले आफू सकेसम्म सहमतिमा नेतृत्व चयन होस भन्ने पक्षमा रहेको बताउनु भयो ।

‘७५ वर्षको इतिहास भएको पार्टीमा नेतृत्वका लागि सयौं योग्य नेता छन, यहाँ नेतृत्वको लागि सबैले योग्यता हासिल गरेका छन् । तर, नेतृत्व लिने नाउँमा प्यानल बनाइएको थाह भयो भने सिंगै प्यानलको उम्मेदवारी पनि खारेज हुनसक्छ । अध्यक्ष मण्डलले त्यो अथोरिटि राखेर काम गरोस, प्यानलमा होइन, ब्यक्तिमा चुनाव होस,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले सहमति नभए निर्वाचनबाट नेतृत्व चयन हुने एमालेको परम्परा रहेको भन्दै समुहबन्दी भने गर्न नपाउने बताउनु भयो । उहाँले एमालेमा चुनाव लडछु भन्नेले चुनाव लडन पाउने भन्दै अध्यक्ष ओलीले उम्मेदवार बन्नुअघि कार्यकर्तासामू आफ्नो ब्यवहार कस्तो छ भनेर हेर्न पनि सुझाउनु भयो ।

 

‘सुदृढ राष्ट्रिय शक्ति निर्माणमा जुटेको सवल, सक्षम एमालेको यो अधिवेशनबाट सवल र सक्षम नेतृत्व चयन होस,’ अध्यक्ष ओलीले भन्नुभयो ।
एमाले बागमतीमा अहिलेसम्म चार जना अध्यक्षका दावेदार देखिनु भएको छ । मकवानपुरका कृष्ण दाहाल, रामेछापका कैलाश ढुंगेल, काठमाडौंका सानुकुमार श्रेष्ठ र बर्तमान प्रदेश अध्यक्ष केशव पाण्डे अध्यक्षमा दावी गरिरहनु भएको छ ।