काठमाडौं, असोज ९ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्द सत्र सञ्चालन गर्नका लागि ११ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ ।
अधिवेशन सम्पन्न गर्नका लागि एमाले बागमती प्रदेश इन्चार्ज गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन भएको हो । अध्यक्षमण्डलको गठनसँगै सोमवार काठमाडौंमा शुरु भएको अधिवेशनको दोस्रो दिन प्रज्ञा भवनमा बन्दसत्र शुरु भएको छ ।
अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्यूरो सदस्य आनन्द पोखरेल, गोकुल बास्कोटा, पार्वत गुरुङ, कमल चौलागाई, रामेश्वर फुयाँल, कृष्ण राई, सुशीला नेपाल, अरुण नेपाल र रत्ना गुरुङ सदस्य रहनुभएको छ ।
स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले दिनुभएको जानकारी अनुसार बन्दसत्रमा राजनीतिक, सांगठानिक, आर्थिक र आगामी कार्य योजना सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत हुनेछन । यस्तै नयाँ नेतृत्वका लागि आजै साँझबाट निर्वाचन कार्यक्रम पनि अघि बढ्ने तामाङले बताउनु भयो ।
एमाले बागमतीमा दुई जना केन्द्रीय सदस्यसहित चार जना अध्यक्षको आकांक्षी रहेका छन । मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल, काठमाडौंका सानुकुमार श्रेष्ठ र बर्तमान अध्यक्ष केशव पाण्डे अध्यक्षको आकांक्षी रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्