काठमाडौं, असोज ११ । नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा अध्यक्षका ४ उम्मेदवारसहित ५ सय ४८ जनाले उम्मेदवारी दर्ता गरेका छन ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित कुल २४० पदका लागि ५ सय ५४ जनाले उम्मेदवारी दर्ता गराएका हुन । निर्वाचन समितिका अनुसार अहिले उम्मेदवारी फिर्ता लिने क्रम चलिरहेको छ ।
फिर्ता लिने प्रक्रिया सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी विद्युतीय मतदान मेसिनका उम्मेदवारको विवरण प्रविष्ट गरेपछि निर्वाचन सुरू हुने छ ।
अधिवेशनमा अध्यक्ष पदमा कृष्णप्रसाद दाहाल, कैलाश ढुङ्गेल, सानुकुमार श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी दिनुभएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका केशवराज पाण्डेले भने उम्मेदवारी फिर्ता लिनुभएको छ ।
यसैबीच निर्वाचन समितिले उम्मेदवारी फिर्ताको समय बढाएर आज राती ८ बजेसम्म पुर्याएको छ । अध्यक्ष मण्डलका सदस्य स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार ८ बजेसम्म सहमतिको प्रयत्न जारी राख्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज राती ९ बजे हुनेछ । मतदान भने शुक्रवार बिहान ८ बजेबाट गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्