जनता टाइम्स

१४ आश्विन २०८०, आईतवार १०:५०

प्रधानमन्त्रीलाई एमालेले सुनायो बटमलाइन


काठमाडौं, असोज १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटबार्ता भएको हो ।

अमेरिका र चीन भ्रणमणबाट फर्किए लगत्तै शनिबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएका प्रधानमन्त्री दाहालले आज प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग छलफल गर्नुभएको हो ।

एमालेले पूर्वसहमतिअनुसार उच्चस्तरीय छानविन आयोग गठनमा ढिलाइ गरेर सरकारले बेइमानी गरेको भन्दै आजको संसद बैठक अवरोध गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको हो ।

बिमानस्थलबाट तस्करी भएको सुन प्रकरणमा छानबिन आयोग बनाउन सरकारले चासो नदिएको भन्दै एमाले आक्रोशित बनेको थियो । सोही विषयलाई लिएर आजको संसद् बैठकमा एमालेले अवरोध गर्ने जनाएपछि संसद सञ्चालनबारे उहाँहरुबीच छलफल भएको छ । छलफलमा एमालेले आयोग गठनबिना सदनको कार्वाही अघि बढन नसक्ने बटमलाइन सुनाएको छ ।

पूर्वसहमतिअनुसार असोज ५ गते नै आयोग गठन गर्नुपर्ने थियो । तर सरकारले मानिरहेको छैन । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक पेश गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री दाहालसँगको भेटमा एमाले अध्यक्ष ओलीसहित उपाध्यक्ष बिष्णु पौडेल र सचेतक महेश बर्ताैला सहभागी हुनुहुन्थ्यो ।