जनता टाइम्स

१४ आश्विन २०८०, आईतवार १७:१५

सहमतिको लागि अधिक प्रयास हुन्छ, नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ : गोकर्ण बिष्ट


काठमाडौं, असोज १४ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमाले पार्टीमा आन्तरिक जनवादलाई कार्यान्वयनमा ल्याउने पहिलो पार्टी भएको बताउनुभएको छ ।

नेकपा एमालले सुरु गरेपछि मात्र नेपाली कांग्रेसल पार्टीको आन्तरिक जीवनमा निर्वाचनको अभ्यास गरेको उहाँले स्मरण गराउनुभयो । एमाले लोकतन्त्रको व्यवहारमा अभ्यास गर्ने पहिलो पार्टी भएको उहाँले दाबी गर्नुभयो ।

नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको पूर्वसन्ध्यामा आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै विष्टले सहमतिबाट नेतृत्व छान्ने कुरा उच्चस्तरीय लोकतान्त्रिक अभ्यास भएको बताउनुभयो । त्यसो नभए मत विभाजन प्रक्रियाबाट पनि नेतृत्व चयन गर्न सकिने उहाँले प्रष्ट पार्नुभयो । ‘हामीले अधिकतम सहमतिको लागि प्रयास गर्ने छौँ’, उहाँले भन्नुभयो ।

गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीलाई जोडेर पार्टीलाई ध्रुवीकरण गर्ने प्रयास गरिएको भन्दै एमाले त्यस कुरामा सचेत रहेको उहाँले बताउनुभयो । उहाँहरूबीच कुनै विवाद र अन्तरद्वन्द नरहेको उहाँले प्रष्ट पार्नुभयो ।

पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनसक्ने बताउँदै विष्टले प्यानल बनाएर पार्टीको आन्तरिक चुनावमा जाने कुरा मान्य नहुने प्रष्ट पार्नुभयो । प्यानल बनाएर चुनाव लड्दा माथिदेखि तलसम्म पार्टी विभाजन हुने भएकोले त्यसो हुन नदिने उहाँले बताउनुभयो । ‘सहमतिको लागि अधिक प्रयास हुन्छ नभए स्वच्छ प्रतिस्पर्धाको आधारमा नेतृत्व चयन हुन्छ’, विष्टले भन्नुभयो ।

मिडियामा विभिन्न किसिमले प्रचार गरिएको भए पनि देखिने गरी एमालेको कुनै पनि प्रदेशका निर्वाचनमा प्यान नबनेको उहाँले बताउनुभयो । प्यान बनाएर चुनाव लड्नेको उम्मेदवारी खारेज हुने कुरा पार्टी अध्यक्षले बताइसकेको उहाँले स्मरण गराउनुभयो । चस्मा जस्तो लगायो नजर त्यस्तै देखिने बताउँदै एमालेमा कुनै प्यानल नभएको उहाँले बताउनुभयो ।

नेकपा एमालेको अधिवेशन पार्टीको आन्तरिक जीवनको लागि मात्र नभएर देशको समृद्धि, विकास र राष्ट्रियता संरक्षणको लागि महत्वपूर्ण हुने विष्टले बताउनुभयो ।