जनता टाइम्स

१५ आश्विन २०८०, सोमबार १७:०८

कम्युनिष्ट नामधारी माधव–प्रचण्डहरूलाई अस्थिपञ्जर साबित गर्नुपर्छ : पद्मा अर्याल


पोखरा, असोज १५ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले कम्युनिष्ट नामधारी पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको दललाई अस्थिपिञ्जर बनाउनु पर्ने बताउनु भएको छ ।  एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उदघाटन समारोहलाई पोखरामा सम्बोधन गर्दै अर्यालले यस्तो बताउनु भएको हो ।

एमालेको काँधमा धेरै अभिभारा रहेको उल्लेख गर्दै उहाँले त्यसको लागि परिवर्तनको वाधक दलाल पुँजीवाद, पार्टी भित्रको सांगठनिक अराजकता र दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने बताउनु भयो । नेपालको कम्युनिष्ट आन्दोलनको नाममा अवसरवादमा लिप्त भएकाहरुलाई धुजा धुजा बनाई माटोमा मिलाउनु पर्ने उहाँको भनाइ छ । ‘कम्युनिष्ट पार्टीका नामधारी माधव नेपाल र प्रचण्डहरूलाई हामीले अस्थिपञ्जर साबित गर्नुपर्ने छ’, सचिव अर्यालले भन्नुभयो ।

नेकपा एमालेलाई आज जनताले खोजेको भन्दै उहाँले देशमा देखिएका समस्या समाधानका लागि एमाले आवश्यक रहेको बताउनु भयो । जनताको अपेक्षा पूरा गर्न एमाले बलियो हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । राष्ट्र निर्माणको अभिभारा एमालेको काँधमा भएको बेला पार्टी आन्तरिक समस्यामा फस्नु नहुने पनि उहाँले बताउनुभयो । पार्टीभित्रको एकतालाई मजबुत बनाएर एमालेलाई बलियो पार्टी बनाउनु अर्यालले बताउनु भयो ।

एमालेका नेता कार्यकर्ता कुनै नेताको कार्यकर्ता नभएर एमालेको कार्यकर्ता हुनुपर्ने उहाँले बताउनुभयो । एमालेमा कुनै व्यक्तिलाई दह्रो बनाउने होइन पार्टी बलियो बनाउने काममा सबै नेता कार्यकर्ता लाग्नु पर्ने उहाँको भनाइ छ ।