जनता टाइम्स

१६ आश्विन २०८०, मंगलवार १३:५०

नेपालगञ्‍जमा कर्फ्यू आदेश जारी


काठमाडौँ, असोज १६ ।   बाँकेको नेपालगञ्‍जमा दुई धार्मिक समुदाय बीच सद्‍भाव बिग्रिने अवस्था देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सोमबार दिउँसो १ बजे देखि लागु हुने गरी अनिश्चितकालसम्मका लागि कर्फ्यू आदेश जारी गरेका छन् ।

जिल्ला प्राशसन कार्यालय बाँकेका अनुसार मिति २०८०/०६/१४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध ऱ्यालीका कारण उत्पन्न हुन सक्ने परिस्थितिका कर्फ्यू आदेश जारी गरेको बताएको छ ।

मिति २०८०/०६/१६ गते मंगलबारको दिन ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीको क्रममा विवाद उत्पन्न भइ नेपालगञ्‍ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले नेपालगञ्‍ज नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ,आदेशमा भनिएको छ ।

कर्फ्यू नेपालगञ्‍ज नगर क्षेत्रको पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका सीमा क्षेत्र भित्र कर्फ्यू आदेश जारी गरिएको हो । अनिश्‍चितकालसम्म लगाइएको कर्फ्यू आदेशका समयमा कसैलाई पनि भेला, सभा समारोह, जुलुस तथा र्‍याली, हुल हुज्जत र हिँड्‍डुल नगर्न आदेश दिइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क)(१)(३)बमोजिम जारी भएको कर्फ्यू आदेशको समयमा यसलाई उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्कता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही गरिने समेत बताइएको छ ।