जनता टाइम्स

१६ आश्विन २०८०, मंगलवार १५:२६

न्यायालयलाई गठबन्धनको विभाग बनाउन खोज्या होला ! सम्भव छैन, हामी पनि छौं यो देशमा : अध्यक्ष ओली


काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले न्यायपालिकालाई आफ्नो विभागजस्तो बनाउन खोजेको बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उहाँले एमालेले न्यायपालिकालाई गठबन्धनको विभाग बन्न नदिने चेतावनी दिनुभयो ।

‘तपाईहरुले न्यायापालिकालाई स्वतन्त्र न्यायपालिका रहन नदिएर गठबन्धनको विभाग बनाउन खोज्या होला सम्भव छैन, हामी पनि छौं यो देशमा’, अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी न्यायालयलाई स्वतन्त्र सम्मानित मर्यादित न्यायापालिकाको रुपमा राख्न चाहन्छौं तपाईंहरुको विभाग बनाउन दिँदैनौं ।’

जिल्ला न्यायाधीशको परीक्षामा फेल भएका र गत निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने व्यक्ति न्यायाधीश नियुक्त भएको अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो । त्यस्तै आफूविरुद्धको संसद विघटनको मुद्दामा बहस गर्ने वकिललाई पनि न्यायाधीश बनाएको उहाँले बताउनुभयो ।

‘मेरा विरुद्धको मुद्दामा उफ्री उफ्री बहस गर्ने फर्मका सहयोगी वकिललाई न्यायाधीश बनाउनुपर्ने रहेछ । एक वर्ष हुन आँट्यो निर्वाचनको गुन अझै सम्झिरहेको रहेछ’, ओलीले न्यायाधीश नियुक्तिबारे भन्नुभयो ।

सत्तारुढ गठबन्धनले चाहेजस्तो आदेश नगर्ने न्यायाधीशलाई रोल्पा रुकुम सरुवा गरिएको पनि उहाँले बताउनुभयो । न्यायाधीश नियुक्ति र सरुवा न्यायप्रणालीमाथिको प्रहार र अदालतमाथि जनविश्वास कमजोर पार्ने प्रयास भएको अध्यक्ष ओलीले बताउनुभयो ।

‘यो घटनालाई साधारण नियुक्ति र सरुवाको विषयको रुपमा लिन सकिदैन । यो साधारण नियुक्ति र सरुवाको कुरा होइन, यो न्यायप्रणाली अदालतको स्वच्छता, मर्यादा र अदालतमाथिको जनविश्वाससँग जोडिएको छ’ ओलीले भन्नुभयो, ‘तपाईहरु अदालतको मर्यादामाथि प्रहार गरिरहनुभएको छ । अदालतमाथिको जनविश्वास कमजोर पािरिरहनुभएको छ ।’

सत्तारुढ गठबन्धनले सरकारमा छउन्जेलसम्म अनेक हत्कण्डा गरे पनि त्यसको जवाफ नेपाली जनतालाई दिनुपर्ने ओलीले बताउनुभयो ।

न्यायाधीशको नियुक्ति र सरुवाको घटना समुद्रको सतहमा देखिने आइसबर्गको टुप्पो मात्र हो भन्दै अध्यक्ष ओलीले यसको भित्री आकार अझै ठूलो रहेको अनुमान गर्न सकिने बताउनुभयो । ‘यो आइसबर्ग संवैधानिक दुर्घटनाको कारण हुन सक्छ’ उहाँले भन्नुभयो ।